एसिसी महिला टी–२० एसिया कपको सेमिफाइनल समीकरण पूरा
काठमाडौं– एसिसी महिला टी–२० एसिया कपको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति समूह चरणको अन्तिम खेलमा घरेलु टोली श्रीलङ्काले थाइल्यान्डसँगको खेलमा १० विकेटको जित निकालेसँगै सेमिफाइनलको समीकरण सकिएको हो ।
शतप्रतिशत जितसँगै तीन खेलबाट ६ अङ्क जोडेर श्रीलङ्का समूह ‘बी’ को शीर्ष स्थानमा रही सेमिफाइनल प्रवेश गरेको छ । पराजित थाइल्यान्ड समान खेलबाट दुई अङ्कका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको छ । यो समूहबाट बङ्गलादेश उपविजेताका रूपमा सेमिफाइनलमा पुगिसकेको छ ।
यता समुह ‘ए’ बाट तीन खेलमा अविजित रहँदै ६ अङ्कका साथ भारत सेमिमाफाइनलमा प्रवेश गरेको छ । पाकिस्तानले समान खेलमा दुई खेल जित्दै चार अंकसहित उपविजेता बनेको छ । समुह ‘ए’ बाट दुई अंक जोड्दै नेपाल बाहिरिसकेको छ । उता सो खेलमा युएईले कुनैपनि अंक जोड्न सकेन ।
अब सेमिफाइनलमा भारतले बङ्गलादेश तथा श्रीलङ्काले पाकिस्तानसँग खेल्नेछन् । सेमिफाइनलका दुवै खेल भोलि हुनेछन् ।