Logo

बोल्न नदिएको भन्दै सुदन किराती बैठकबाट निस्किएपछि…

काठमाडौं– अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादव र पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीबीच समितिको बैठकमै भनाभन भएको छ । आज पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा हिजो दुर्घटना भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छलफल चलिरहेको थियो । पूर्वमन्त्री किरातीले आफ्नो धारणा राख्ने क्रममा सभापति यादवले टेक्निकल कुरा राख्न भने ।

सभापति यादवको निर्देशनपछि पूर्वमन्त्री किरातीले ‘म राजनीतिक व्यक्ति हुँ । मैले टेक्निकल विषय कसरी बोल्ने ? म न पाइलट हो न प्राविधिक ?’ भन्दै प्रतिवाद गरे ।

पूर्वमन्त्री किरातीको प्रतिवादपछि कुरा सकाउन नपाउँदै सभापति यादवले पूर्व रक्षामन्त्री हरि उप्रेतीलाई समय दिए । उप्रेतीलाई समय दिएपछि ‘तपाईँले मलाई धम्क्याउन बोलाउनु भएको रहेछ । म यो समितिमा बस्दिँन’ भन्दै किराती उठेर बाहिरिन खोजे ।

बोल्नका लागि उठेका पूर्वमन्त्री उप्रेतीले ‘बस्नुस् माननीयज्यू’ भनेपछि किरातीले ‘तपाईँ मलाई रुलिङ गर्ने को हो ?’ भन्दै बाहिरिए ।

बाहिरिने क्रममा उनले भने, ‘बोल्न नमिल्ने भए एजेण्डा किन राख्नुभयो? अरुलाई बोल्न दिने मलाई चाहिँ टेक्निकल कुरा गर भन्ने, कुनै टेक्निसियन होइन, राजनीतिक गरेर आएको हुँ ।

प्रतिक्रिया दिनुहोस्