Logo

लुम्बिनी प्रदेशमा नाउपा संसदीय दल नेता फेर्ने रेशम पक्षको प्रयास असफल, प्रदेश सभाले दिएन मान्यता

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेता फेरिएको भन्दै प्रदेश सभामा पेस भएको निवेदनलाई प्रदेश सभाले मान्यता नदिएपछि दल नेता फेर्ने निर्णय असफल भएको हो ।

प्रदेश सभाले बिहीवार उपलब्ध गराएको दलगत विवरणमा संसदीय दलको नेतामा धर्मबहादुर चौधरी नै छन् । दलगत विवरणमा राजकुमार चौधरी प्रमुख सचेतक, नरमाया ढकाल सचेतक र निर्मलादेवी थारु प्रदेश सभा सदस्य रहेकी छन् ।

संसदीय दलको नेताबाट धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई तोकिएको विवरण सहितको पत्र गत ७ गते प्रदेश सभामा पेश गरिएको थियो । बहुमत सांसदको सोमबार बसेको बैठकले राजकुमार चौधरीलाई दल नेता बनाउने, प्रमुख सचेतकमा नरमाया ढकाल र सचेतकमा निर्मलादेवी थारूलाई चयन गरिएको उल्लेख थियो ।

लुम्बिनीमा नाउपाका ४ जना सांसद छन् । संसदीय दलको नेताबाट हटाईएका चौधरी पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ निकट हुन भने राजकुमार संरक्षक रेशमलाल चौधरी पक्षका हुन् । रञ्जिता र रेशम श्रीमान श्रीमती हुन तर, यी दुईले पछिल्ला केही महिनायता आ आफ्नो गुट खडा गरेका छन् । सुदूरपश्चिममा लामो समयसम्म पार्टीमा विवाद कायमै छ ।

लुम्बिनीमा धर्मबहादुर चौधरी यसअघि दुई पटकसम्म मन्त्री भईसकेका छन् भने रेशमले आफू पक्षका राजकुमारलाई दलको नेता बनाएर मन्त्री बनाउने तयारी थियो । तर, प्रदेश सभाले मान्यता नदिएपछि धर्मबहादुरनै सरकार जाने करिव पक्कापक्की भएको नाउपाका नेताहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्