Logo

भारतमा मजदुरले भेटे १ करोड २८ लाख पर्ने बहुमुल्य हिरा, भन्छन्, ‘सबैभन्दा पहिला पाँच लाख ऋण तिर्छु’

एजेन्सी- भारतको मध्यप्रदेशमा हालै एक मजदुरले खानीमा एउटा वहुमूल्य हिरा भेटेका छन् । पाँच लाख ऋणमा डुबेका उनले लाखौँ पर्ने हिरा भेट्टाएपछि उनको जीवन कायापलट हुने भएको छ ।

भारतको पन्नालाई हिराको भण्डारको लागि प्रसिद्ध मानिन्छ । यहाँका मजदुरहरु वहुमूल्य धातुको खोजी गर्न भाडामा जमिन लिएर काम गरिरहेका हुन्छन् । यसैक्रममा पन्ना सहरमा स्थानीय मजदुर राजु गौणले हिरा उत्खननका लागि १० वर्षदेखि जमिन भाडामा लिँदै आएका थिए । ज

हाँ उनले १९.२२ क्यारेटको हिरा फेला पारेका हुन् । सरकारी लिलामीमा उक्त हिरा करिब ९५ हजार ५ सय ७० अमेरिकी डलर अर्थात् झण्डै ८० लाख भारु बराबरको मूल्य हुने अपेक्षा गरिएको छ । जुन रकम नेपालीमा तुलना गर्दा १ करोड २८ लाख नेपाली रुपैयाँभन्दा बढी हुन्छ ।

‘हामी धेरै गरिब छौं । आम्दानीको अरु कुनै स्रोत छैन । आशा छ यसले केही आम्दानी हुनेछ,’ गौण भन्छन् । हिराले गर्दा अरु मानिसहरुको पनि जीवन बदलिएका काहानी सुनेका उनी आफ्नो पनि कुनै दिन भाग्य खुल्ने आशामा खानीमा काम गरिरहेको सुनाउँछन् ।

यो अप्रत्यासित पैसाले गौण अब राम्रो घर बनाउने सोच बनाएका छन् । उनी आफ्नो पहिलेदेखि लागेको लाखौंको ऋण यही रकमबाट तिर्ने पनि तयारीमा छन् । सबैभन्दा पहिले चाहिँ गौण ५ लाख ऋण तिर्ने तयारीमा छन् । हिराबाट आएको पैसाले सन्तानलाई राम्रोसँग पढाउने उनको सपना छ ।

थुप्रै परिवारहरु र सहकारी समूहहरुले यस्ता खानी हिरा खोजीका लागि भाडामा दिने गरेको बिबिसि हिन्दीले जनाएको छ । कसैले हिरा पाएपछि उक्त हिरालाई मजदुरहरुले सरकारलाई बुझाउँछन र सरकारबाट कर कट्टा भएर उनीहरुले त्यसको बजार मूल्य पाउँछन् ।

यस्ता खानीहरु विशेष र सीमित समयका लागि २ सयदेखि २ सय ५० रुपैयाँको लागि भाडामा पाइन्छ । यसअघि २०१८ मा बुन्डेलखन्डका एक जना मजदुरले १ करोड ५० लाख भारु बराबरको हिरा पन्नामा भेटेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्