Logo

विमान दुर्घटनापछि सौर्य एयरले भन्यो, ‘कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग गर्छौँ’

काठमाडौं– सौर्य एयरलाइन्स प्रालिले बुधबार त्रिभुवन विमानस्थलमा भएको दुर्घटनाबाट अकल्पनीय क्षति ब्यहोर्नुपरेको बताएको छ। कम्पनीले शुक्रबार विज्ञप्ति जारी गर्दै दुर्घटनामा विज्ञहरूको क्षति अकल्पनीय रहेको जनाइको हो ।

‘यस कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनु परेको’ विज्ञप्तीमार्फत कम्पनीले भनेको छ। कम्पनीका अध्यक्ष दीपक कुमार पोखरेलद्वारा जारी विज्ञप्तिमार्फत पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सदभाव सधैं रहने विश्वास दिलाएको छ।

कम्पनीले भनेको छ, ‘सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनियता आर्जनका लागि उहाँहरुले निष्ठापूर्वक पुर्याउनु भएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधै जिवन्त एवं चिर स्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौं।’

कम्पनीले दुर्घटनामा परी निधन भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै बाँच्न सफल क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

बुधबार बिहान ११ः११ बजे काठमाडौंबाट पोखरा इन्जिन मर्मतका लागि उडेको सौयै एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको २० सेकेन्डमै अनियन्त्रित भइ दुर्घटनामा परेको थियो । उक्त विमानमा चालक दल दुई जना, एक नाबालक, एक महिला र सौर्य एयलाइन्सका प्राविधिक गरि १९ जना सवार थिए ।

विमानका पाइलट मनिष शाक्यको जीवितै उद्धार गरेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको थियो । बाँकी १८ जनाको मृत्यु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्