गोरखामा प्रहरीले निकाल्यो ६ दिन अघि गाडेको शव



गोरखा- गोरखामा आत्महत्यापछि दाहसंस्कार गरेर गाडिएको शव ६ दिनपछि प्रहरीले निकालेको छ । बारपाक सुलिकोट गाउँपालिका–४ भण्डारी गाउँकी ४५ वर्षीया रनमाया गुरुङको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले शव उत्खनन गरेको हो ।

गत साउन ४ गते रनमाया आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनको मृत्युपछि घरमा भेला भएका व्यक्तिलाई श्रीमान् मारज गुरुङले झुण्डिएर आत्महत्या गरेको बताएका थिए । सोपछि उनलाई जातीय परम्पराअनुसार दाहसंस्कार गर्दै चिहानडाँडामा गाडिएको थियो ।

तर उनको दाहसंस्कारमा माइतीपक्ष पुगेका थिएनन् । दाहसंस्कारका क्रममा खिचिएको फोटोहरुमा शरिरका विभिन्न चोट र निलो दाग देखेपछि माइती पक्षले छानबिनका लागि प्रहरीमा निवेदन दिएका थिए ।

साउन १० गते मृतकका दाजु सुकपाल गुरुङले प्रहरी चौकी सौरपानीमा छानबिनका लागि दिएका हुन् । माइती पक्षको निवेदनको आधारमा साउन ११ गते शुक्रबार इलाका प्रहरी कार्यालय जौवारी, जिल्ला प्रहरी कार्यालय र गोरखा अस्पतालका बिशेषज्ञ चिकित्सक समेतको टोली घटनास्थल पुगेर गाडेको स्थानबाट शव उत्खनन गरेका थिए । हाल उक्त शवलाई पोष्टमार्टमका लागि फरेन्सिक मेडिसिन विभाग महाराजगंज काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
आत्महत्याको घटनाबारेमा प्रहरीलाई थाहै नदिइ दाहसंस्कार गर्नुले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

पोष्टमार्टमको रिपोर्ट आएपछि थप कुरा खुल्ने प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।