काठमाडौं– गोरखाको धार्चे गाउँपालिका–५ रिसामा पहिरोमा परी घाइते भएका दुई जनाको उद्धारमा सरकारले बेवास्ता गरेको भन्दै सांसद राजेन्द्र बजगाईँले आपत्ति जनाएका छन् ।
उद्धारका लागि गुहार गर्दा नेपाली सेनाले धादिङ र नुवाकोटको आकाशमा प्रतिकूल मौसम रहेको कारण हेलिकोप्टर जान नसकेको भनी जानकारी आएको उनले सुनाए । नेता बजगाईँले सोही समयमा प्राइभेट हेलिकोप्टर सेवा प्रदायक कम्पनीले भने उडान भरेर उद्धार सफल भएको उनले बताए । नेपाली सेनाको हेलिकोप्टरलाई लाग्ने प्रतिकूल मौसमको समस्या प्राइभेट कम्पनीलाई किन लागेन ? भनी प्रश्न गरे ।
आज बिहान करिब तीन बजेतिर पहिरो जादा एउटा घर र एउटा कृषि फर्म पुरिँदा ५ जना बेपत्ता छन् । साथै, सौर्य एयरलाईन्सको विमान दुर्घटनामा परी निधन भएकाहरुप्रति उनले दुःख व्यक्त गरे । विमान दुर्घटनामा निधन भएकाहरुको शोकमा राष्ट्रिय झण्डा आधा झुकाएको सरकार त्रिशुली नदीमा बस खस्दा बेपत्ता भएका ६५ जनाको बारेमा नबोलेको भन्दै उनले आपत्ति जनाए । सांसद बजगाईँले विमान दुर्घटना र बस दुर्घटनामा निधन भएकाहरुको प्रति सरकारले विभेद गर्यो भनेर अहिले प्रश्न उठिरहेको पनि बताए ।
प्रतिक्रिया