Logo

हरि ढकालले विश्वप्रकाशसँग मागे नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका डिआईजी सरुवाको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाल प्रहरीका डीआईजी मनोज केसीको सरुवा भएकोप्रति आपत्ति जनाएका छन् ।

आइतबार बसेको सदनको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका मनोज केसीलाई सरुवा गरेको भन्दै आपत्ति जनाए । उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पालामा भएको प्रहरी निरिक्षकको सरुवामा प्रश्न उठाउने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग यसबारेमा जवाफ माग गरेका छन् ।

‘मनोज केसीलाई कसरी सरुवा गरियो ? विश्वासको मत लिएको २ दिन भित्रमा सरुवा गरियो । किन केका लागि हामीले यो सरकार किन र कुन उदेश्यले बनेको भनेर प्रश्न गरिरहँदा जुक तर्क प्रस्तुत गरेका थियौं त्यसैलाई पुष्टि भयो’ उनले भने ‘कांग्रेसका महामन्त्रीले असार १० गते एउटा पोष्ट गर्नुभयो । प्रहरी निरिक्षकको सरुवाबारे गलत भाष्य निर्माण गर्नका लागि । म आज डीआईजी केसीको सरुवाबारे तपाई बोल्न सक्नुहुन्छ यो सदनमा ? सक्नुहुन्न’ ।

सांसद ढकालले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले विश्वासको मत लिँदा रास्वपालाई नातिनातिनाको संज्ञा दिएको भन्दै आपत्ति जनाएका छन् । उनले आफूहरु ओलीले भनेकोजस्तो अपूताली खाने नातिनातिना नभएको जिकिर गरे ‘यसरी हामीले जनभावना विपरितका कार्यमा जनताका आवाजहरु सदनमा राखिरहँदा नातिनातिनाको संज्ञा दिईन्छ । हामी नाति नातिनानै हौं । डिठ्ठा साव र काजीसावका रवैयाहरुलाई खवरदारी गर्ने अव्वल सक्षम र पढेलेखेका नातिनातिका हौं । हामी गाउँघर तिर भनिने गरेकोजस्तो अपूताली खाने नातिनातिना होइनौं’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्