Logo

सात पटक एसिया कपको बिजेता भारतलाई हराउँदै श्रीलंकाले उचाल्यो उपाधि

काठमाडौं– सात पटक एसिया कपको बिजेता बनेको भारतलाई हराउँदै श्रीलंकाले एसिया कप महिला क्रिकेटको उपाधि जितेको छ । २० वर्षदेखिको एसिया कप महिला क्रिकेटमा भारतको दबदबा तोड्दै आइतबार घरेलुमैदानमा श्रीलंकाले पहिलोपटक उपाधि उचालेको हो ।

आइतबार दाम्बुलामा भएको फाइनल खेलमा पहिला ब्याटिङ गरेको भारतले १६६ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको श्रीलंकाले २ विकेटको क्षतिमा ८ बल बाँकी रहँदा लक्ष्य पूरा गर्‍यो ।

श्रीलंकाको जितमा कप्तान चरिथा अटापट्टु र हर्सिता समरविक्रमाले अर्धशतक बनाइन् । चरिथाले ४३ बलमा ६१ रन बनाइन् भने समरक्रिमाले नटआउट ६९ रन बनाइन् । यस्तै कविशा दिलहरीले नटआउट १६ बलमा ३० रनको विस्फोटक ब्याटिङ गरिन् । उनले छक्का प्रहार गर्दै उपाधि दिलाएकी हुन् ।

यसअघि स्मृति मन्धानाले ४७ बलमा ६० रन र रिचा घोसले १४ बलमा ३० रन बनाएपछि भारतले १६५ रन बनाएको थियो ।

महिला एसिया कपमा श्रीलंका र भारतको फाइनलमा भेट यो पाँचौं पटक हो । पाँचौ भेटमा भारतलाई श्रीलंकाले हराएको हो । यसअघि २००४ यता सुरु भएको महिला एसिया कपमा २०१८ को सिजनमा भारतलाई ३ विकेटले हराउँदै बंगलादेशले उपाधी जितेको थियो । त्यसबाहेक २००४, २००५, २००६, २००८, २०१२, २०१६ र २०२२ को उपाधि भारतले जितेको छ ।

 

प्रतिक्रिया दिनुहोस्