टर्च बालेर सरकार खोज्दै सुदुरपश्चिम प्रदेश सभा सदस्यहरु
काठमाडौं– सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठकमा सरकार पक्ष सहभागी नभएपछि प्रतिपक्षी दलले टर्च बालेर सरकार खोजेका छन् ।
मन्त्रीको अनुपस्थितिमा बैठक चल्न नसक्ने भन्दै सोमबार सभामुख भीमबहादुर भण्डारीले अनिश्चितकाललाई बैठक स्थगित गरेका थिए । सोपछि प्रतिपक्षी दल काँग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले प्रदेश सभा भवन अगाडि टर्च बालेर सरकारको खोजी गरेका हुन् ।
उनीहरूले मोबाइलको फ्ल्यास लाइट बालेर विरोध जनाएका छन् । काँग्रेस र एमालेका प्रदेश सभा सदस्यको मागअनुसार प्रदेश प्रमुखले आह्वान गरेको विशेष अधिवेशनको तेस्रो बैठक सोमबार दिउँसो २ बजे बोलाइएको थियो । तर बैठक सुरु हुँदा मन्त्रीहरुको उपस्थिति नभएपछि सभामुखले बैठक स्थगत गरेका थिए ।
केन्द्रीय सरकारमा सत्ता समिकरण परिवर्तन भएपछि २० असारमा एमालेले सुदुरपश्चिम सरकारको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो । सोपछि मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् । यसअधि विशेष अधिवेशनको बैठकमा सरकारका तर्फबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा सहभागी भएका थिए । तर उनलाई आफ्नो निर्देशन विपरित बैठकमा सहभागी भएको भन्दै मुख्यमन्त्रीले आइतबार बर्खास्त गरेका थिए ।
अल्पमतमा परेपछि चालु आर्थिक वर्षको बजेट पारित गर्न नसकेका मुख्यमन्त्री सोडारीले अध्यादेशमार्फत बजेट ल्याउन खोजेका थिए । तर प्रदेश प्रमुख नजिर मियाँले उक्त निर्णय कार्यान्वयनमा ढिलाइ गर्दै विशेष अधिवेशन बोलाएपछि उनले बजेट ल्याउन सकेनन् । सरकारले वैकल्पिक बजेट समेत ल्याउन नसकेपछि सुदूरपश्चिम प्रदेश अहिले बजेट शून्यतामा गएको छ ।
अल्पमतमा परिसकेका मुख्यमन्त्री सोडारीले संवैधानिक प्रावधान बमोजिम समर्थन फिर्ता लिएपछिको एक महिनासम्म सत्ता नछाड्ने अडान राखिरहेका छन् ।