अमेरिकामा गोली हानेर हत्या भएका दीपक, ८० लाख बुझाएर अवैध बाटोबाट अमेरिकामा पुगेका थिए


काठमाडौं- अमेरिकामा आइतबार बिहान एक नेपालीको गोली हानेर हत्या भयो । टेक्सस राज्यमा आइतबार बिहान करिब ५ः२० बजेतिर रुकुम पश्चिमको बाफीकोट गाउँपालिकाका ३० वर्षका दीपक वलीको हत्या भएको हो ।

एक लुटेरा समुहले उनलाई गोली हानेर हत्या गरेको हो । उनी भाग्न खोजेपनी गोली लागेर उनको घटनास्थलमा नै मृत्यु भएको थियो । त्यतिबेला उनी टेक्सासको वेको सिटी नजिक हाइवे ३५ को एक्जिट ३४६ मा रहेको ग्यास स्टेसनमा काम गरिरहेका थिए।

दिपक रुकुम पश्चिमको बाफीकोट गाउँपालिकाका स्थायी बासिन्दा हुन् । पाँच वर्षीय छोरी र श्रीमतिलाई छाडेर उनी सँधैका लागि बिदा भएका छन् । मृतक दीपककी २६ वर्षीया श्रीमती बिमला बुढाथोकी वली ५ वर्षीया छोरी पढाउन दाङ बस्दै आएकी छिन् । उनका बुबा लिलाराम वली गाउँमै बाख्रापालन गर्छन् ।

ओली एक वर्षअघि मात्र अमेरिका तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए । उनी करिब तीन वर्षअघि अमेरिका जान भन्दै घर छाडेका थिए । अवैध बाटोबाट अमेरिका पुर्याउने गिरोहको सम्पर्कमा आएका उनले २०७९ मंसिरमा अमेरिका जानका लागि घर छाडेका थिए ।

उनी अमेरिका पुग्नलाई बाटोमा नै झन्डै डेढ वर्ष लागेको छ । उनी बाटोमा धेरै कष्ट भोग्नुपरेको कथा सुनाउँदै परिवारमा अवैध रुपमा अमेरिका जान नहुने रहेछ भन्दै सुनाउँथे । करिब डेढवर्षपछि २०२३ को जुलाईमा उनी अमेरिका पुगेका थिए । उनले अवैध रुपमा अमेरिका जान ८० लाख रुपैयाँ ऋण लिएर गिरोहलाई बुझाएका थिए ।

सोमध्ये हालसम्म आधा ऋण मात्र उनले चुक्ता गर्न सकेका थिए । उनी अवैध रुपमा अमेरिका जान लागेको ४० लाख ऋण अझै तिर्न बाँकी नै थियो । अमेरिका पुगेको एक वर्षमा नै उनको हत्या भयो । सोमबार बिहान २ बजेतिर अमेरिका बस्दै आएका गाउँकै एक जनाले दीपकको हत्याबारे परिवारलाई जानकारी दिएका थिए। दिपकलाई गुमाउँदा उनको परिवार यतिबेला शोकमा डुबेको छ । अझ ४० लाख ऋणले ऋण कसरि तिर्ने भन्ने पीर परिवारमा झनै थपेको छ ।

उनको शव अहिले टेक्टसकै एक अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ । शव परिक्षणपछि उक्त शवलाई नेपालमा कसरि ल्याउने भन्ने थप चिन्ताले वली परिवारलाई सताएको छ ।