धादिङ– धादिङमा सडेगलेको र बासी खानेकुरा खुवाउने होटल कारबाहिमा परेको छ । धादिङको थाक्रे गाउँपालिका– ८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई दुई लाख रुपैयाँ जरिवाना तिर्न लगाईको छ ।
ती होटलका सञ्चालनकले खाजा तथा खाना आएका ग्राहकलाई बासी खानेकुरा खान दिएका थिए । ग्राहकले उक्त बासी खाना गन्हाएको र दूषित रहेको भन्दै गुनासो गर्दा होटल सञ्चालकले गालीगलौज समेत गरेका थिए ।
सोपछि आइतबार बिहान एकजना उपभोक्ताले प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर न्यू रिया होटलले बासी, सडेगलेको खानेकुरा बिक्री गरिरहेको गुनासो गरेका थिए । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय धादिङमार्फत प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी टोली होटलमा पुगेको थियो ।
प्रहरीले वडाध्यक्षसहित होटलको अनुगमन गरेको थियो । होटलको फ्रिजमा राखेको खानेकुरा समेत गन्हाएको फेला परेपछि प्रहरीले होटल सञ्चालकलाई नियन्त्रणमा लिएको थियो । होटल सञ्चालकले बिहान बिक्री गरिरहेको खानेकुरा अघिल्लो दिनमा नै बनाएर फ्रिजमा राखेको र तापक्रम नमिलेकाले गन्ध आएको स्वीकार गरेका छन् । उनलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुगमन समितिले दुई लाख जरिवाना लगाएको छ ।
प्रतिक्रिया