छालाको अस्पताल खोल्ने भन्दै बनाएको भवनमा चर्चको संगती सुरु भएपछि…


कैलाली- छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर खोलिएको चर्चको भवनमा धनगढी उपमहानगरपालिकाले डोजर चलाएको छ । स्थानीयलाई अस्पताल खोल्ने र वडासँग सेमिनार सञ्चालन गर्ने भन्दै अनुमति लिएर चर्च सञ्चालनमा ल्याइएको भवनमा मंगलबाट उपमहानगरले डोजर चलाएको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा जग्गा भाडामा लिएर उक्त भवन लेट मेईन नामक संस्थाले बनाएको थियो । तर भवन निर्माण गर्दा अनुमति लिएअनुसार नबनाएको भन्दै उपमहानगरले अनुमति रद्ध गरेको छ । उक्त भवन बनाउँदा त्यहाँका स्थानीयलाई छालाको अस्पताल बनाईरहेको बताइएको थियो । वडा नम्बर ७ को वडा कार्यालयबाट भने तालिम चलाउने सेमिनार हल भनेर कम्पनीले भवन निर्माणको इजाजत लिएको थियो ।

तर भवन निर्माणपछि उक्त भवनमा सेमिनार सञ्चालन नभइ चर्चको संगती हुन सुरु भयो। सोपछि स्थानीयले आफुहरुलाई अस्पताल बनाउने भन्दै झुक्काएर चर्च सञ्चालनमा ल्याएको थाहा पाएका थिए ।
इसाईको बसोबास नभएको समुदायमा झुक्याएर चर्च खोलिएको र धर्मको प्रचार गर्न खोजिएको भन्दै स्थानीयले विरोध जनाएका थिए । आर्थिक अवस्था र चेतनाको स्तर कमजोर भएका व्यक्तिलाई आर्थिक र स्वर्ग जाने प्रलोभन देखाएर धर्म परिवर्तन गर्न समुदायमा चर्च खोलिएकोले बन्द गर्नुपर्ने माग उनीहरुले राखेका थिए ।

सो घटना बाहिर आएपछि भवन निर्माण गर्ने लेट मेइन धनगढी प्रालिलाई धनगढी उपमहानगरपालिकाले २४ घण्टा भित्र लिखित जवाफ दिन पत्र काटेको थियो । उपमहानगरपालिकाले ्संस्था दर्ता भए÷नभएको, भवनको नक्सा पास भए÷नभएको, जग्गा धनीसँग गरिएको सम्झौता, सम्झौता बमोजिम कार्यक्रम भए÷नभएको लगायतका प्रमाण माग गरेको थियो ।

तर सो अवधिमा कम्पनीले कुनै जवाफ नदिएपछि मंगलबार उपमहानगरका नगरप्रहरी डोजरसहित उक्त चर्चमा पुगेका थिए । उपमहानगरका तीन वटा डोजर र नगरप्रहरीले उक्त भवन भत्काएको हो । चर्चका तीन जना सन्चालक समेत पक्राउ परिसकेका छन् ।