ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि सडक ठप्प


दाङ– दाङको भालुबाङमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि स्थानीयले सडक ठप्प पारेका छन् ।

राप्ती गाउँपालिका–१ भालुबाङ पुल्चोकमा फलफूलको व्यापार गर्दै आएका ५० वर्षीय लोकप्रकाश भट्टराईलाई बाटो काट्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ख २७७९ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

घटना मंगलबार बिहान ८ बजेतिर ट्रकले ठक्कर दिएको उनको घटनास्थलमै मृत्यु भएको थियो। त्यस लगत्तैदेखि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अन्तरगत भालुबाङमा सडकमै शव राखेर विरोध प्रदर्शन गरेका थिए।

त्यसपछि भालुबाङ–लमही सडक अन्तर्गतको सिसहनियाँ हुँदै वैकल्पिक मार्गबाट सवारी साधन चलाउनु परेको छ ।

प्रहरीले साढे १२ बजेतिर मृतकको शव पोष्टमर्टमका लागि लमही अस्पताल पुर्‍याएको छ। यो बीचमा केहीबेर सडकखण्ड प्रहरीले खुलाए पनि फेरि स्थानीयले बन्द गराएका छन्। सडक खुलाउन स्थानीयसँग छलफल भइरहेको प्रहरीले जनाएको छ ।