विवाहमा रथ तान्न छाडेपछि बुढो घोडालाई सबेरै जङगलमा लगेर मालिकले पारिदिए अलपत्र


काठमाडौं– सामाजिक सञ्जालमा एक घोडाको कारुणीक दृश्यले छोएको छ । जहाँ एउटा भोको, दुब्लो घोडा भुईँमा लडिरहेको छ । त्यसको शरीरभरी घाउ छ र त्यहाँ झिंगा भन्किरहेको छ । घोडाको अगाडीको खुट्टा भाँचिएकाले राम्ररी हिँड्न सकिरहेको छैन ।

त्यो नाजुक अवस्थामा रहेको घोडा सँधै त्यस्तो कमजोर थिएन । जब त्यो घोडाको शरिरमा बल थियो, यसका मालिकले विवाहमा रथ तान्नको लागि प्रयोग गर्थे । जब उमेरसँगै घोडा शिथिल हुन थाल्यो, मालिकले घोडालाई बिनाकाम पालिराख्न जरुरी ठानेनन् । त्यसैले एउटा पिकअप भ्यानमा रोग र बुढ्यौलीले शिथिल भएको घोडामा लोड गरे ।  सिराहाको लहान नगरपालिका–१७, गोविन्दपुरको जंगलमा सोमबार बिहानै करिब ४ बजेतीर लगरे छाडिदिए ।

ती घोडाका मालिक हुन्, लहान नगरपालिका वडा नम्बर १ मा बस्ने धनेश्वर यादव । उनले घोडा बुढो भएर रथ तान्न छाडेपछि खानेकुरा र पानी दिन छाडे। कुटपिट गरेर बषौँदेखि पालिएको घोडालाई घरबाट भगाउन खोजे । तर घोडा नभागेपछि गाडीमा लोड गरेर जंगलमा लगेर छाडिदिए ।

उक्त घोडाको अवस्थाबारे सामाजिक सञ्जालमा चर्चा भएसँगै पशु परोपकारका लागि काम गर्ने टिएफसी नेपाल संस्थाको टोली सिराहा पुग्यो । सोमबार नै टोलीले घोडालाई घाँस र पानी खुवायो । भोक र प्यासले थलिएको घोडामा विस्तारै थोरै बल आउन थाल्यो । एसपिसिए संस्थाद्वारा पठाइएको स्थानीय पशु चिकित्सकहरू सहयोगमा उक्त घोडाको प्राथमिक उपचार सम्पन्न भयो ।

घोडाको यस्तो अवस्थामा पुर्याएर छाड्ने मालिकलाई कारबाहिको दायरामा ल्याउन प्रहरीसँग समन्वय गर्ने संस्थाले प्रतिवद्धता जनाएको छ । जनावरप्रति यस्तो क्रुरता निन्दनीय रहेको र यस्ता काममा बढावा नदिन समेत संस्थाले आग्रह गरेको छ ।

घोडाको अवस्था केहि ठीक भएपछि थप उपचार र हेरचाहको लागि घोडालाई काठमाडौं ल्याउने तयारी संस्थाले गरेको छ । सो कार्यको लागि करिब २५ हजार रुपैयाँ खर्च हुने जनाइएको छ । उसलाई चोभारस्थित एनिमल नेपालको आश्रयस्थलमा राखेर औषधि उपचार र स्याहारसुसार गर्ने तयारी भएको छ ।