काठमाडौं– ‘बाबु आमाहरुले आफ्नो बच्चालाई मेरो मुटु, मेरो कलेजोको टुक्रा भनेको सुनेको थिएँ, त्यो साच्चै रहेछ । आज म छोराको जीवन बचाउनको लागि आफ्नो कलेजो काटेर दिन तयार भएँ’, छोराको उपचारका लागि भौतारिरहेका बुबा सुमन श्रेष्ठ निराश हुँदै भन्छन् । जन्मँदै अनेकौँ समस्या बोकेर काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका– ७ का आरुष श्रेष्ठ जन्मिए ।
जन्मिएको एक महिना नवित्दै सुमनकाे छोरा आरुषमा जटिल समस्या देखिन थाल्यो । काठमाडौंको धेरै अस्पताल चाहार्दा पनि रोग पत्ता लागेन, समस्या झन् झन् जटिल हुदै गईरहेको थियो । उपचारको शिलशिलामा बच्चा तीन महिनाको हुँदा भारतमा पुगेपछि मात्रै रोग पत्ता लाग्यो । उनलाई जन्मिँदै एकदमै थोरैमा देखिने जटिल रोग इएचबीए देखा परेको रहेछ ।
आरुषका बुबा सुमन भन्छन्, ‘ नौ बर्षसम्म आफ्नो सम्पत्ति बेचेर र साथीभाई ईष्टमित्रको सहयोगमा उपचार गराएँ । धन र ऋण गरेर ४० लाखजति खर्च भएसक्यो । अझै उपचारको लागि ३० लाखजति लाग्ने भएछ ।’
‘इमर्जेन्सी अपरेशन गर्नुपर्ने रोग रहेछ, बच्चाले जीवन पाउछ भने उपचार गर्ने निधो सँगै जसो तसो खर्च जोहो गरी उपचार अगाडि बढ्योर अपरेसन सफल भयो तर कलेजो निकै नै बिग्रीसकेको रहेछ। २ महिनाको लगातार मेडिकेशन, अस्पताल बसाई पछि घर फर्कियौँ । डाक्टरको सल्लाह अनुसार प्रत्येक महिना भारतकै अस्पतालमा फलोअप जानुपथ्र्यो, प्रत्येक दिन औषधी र प्रत्येक महिना फलोअप गर्ने समस्या देखियो ।’ बुबा सुमन भन्छन्, ‘६ महिना वर्ष दिनमा विरामी भै रहन्थ्यो । उपचारको लागि प्राय जसो भारतमै र कहिले नेपालकै अस्पतालमा धाईरह्यौँ। हरेक बर्षमा १–२ पटक नाक, मुख र मलद्वारबाट समेत रगत बग्ने समस्या भइरहन्थ्यो र तत्कालै अस्पताल भर्ना गरेर आन्द्रामा ब्यान्डिंग गरेर अस्थाई रूपमा रोकथामको उपचार परिवारले भरथेग गरिरह्यो ।’
अहिले फेरि छोराको कलेजो काम नगर्ने अवस्थामा रहेको उनले बताए । कलोजो फेल भएपछि चिकित्सकले यथाशिघ्र कलेजो फेर्न सुझाव दिएका छन् । तर भारतसम्म पुगेर उपचार गर्न महँगो छ । नेपालको केहि अस्पतालमामा कलेजो प्रत्यारोपन सुरू भएको भन्दै डाक्टरहरूको सल्लाह र सुझाबमा छोराको भक्तपुरमा उपचार गर्ने निधो गरेको उनले सुनाए । उनले भने, ‘शहिद धर्मभक्त प्रत्यारोपन केन्द्रमा चेक जाँच गरेर यहि उपचार गर्ने निधो भएको छ । सबैको साथ सहयोग र आशिर्बादले बाबुको सफल उपचार भएर पुर्ण रूपमा निको हुनेछु भन्ने विश्वास लिएको छु।’
अपरेशनको लागि एकैपटक ३० लाख रुपैयाँ जम्मा गर्न अस्पतालबाट सुझाव आएको र परिवारसँग यत्रो उपचार खर्त व्यहोर्न सक्ने अवस्था नभएको भन्दै उनले सहयोगका लागि अपिलसमेत गरेका छन् ।
प्रतिक्रिया