इजरायलको आक्रमणबाट हमासको नेता मारिए
रोयटर्स— इजरायलको आक्रमणबाट हमासका एक नेता इरानमा मारिएका छन् । इरानका नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी हुन पुगेका हमासका नेता इस्माइल हानिया बुधबार इजरायलको आक्रमणबाट मारिएका हुन् ।
यसको पुष्टि प्यालेस्टाइनी लडाकु समूह हमास र इरानको एलिट रिभोलुसनरी गार्ड्सले गरेका छन् ।आज बिहानै, तेहरानमा इस्माइल हानियाको निवासमा आक्रमण भएको थियो, जसका कारण उनी र उनका एक अंगरक्षकको मृत्यु भएको थियो,’ रिभोलुसनरी गार्डले भनेको छ ।
हानियाको मृत्युमा इजरायलले आधिकारिक रूपमा अहिलेसम्म केही पनि भनेको छैन । तर इजरायली सरकारका सम्पदामन्त्री अमिचे इलियाहुले भने ‘विश्वबाट यस्तो फोहोर सफा गर्ने यही नै सही तरिका हो’ भनेर प्रतिक्रिया दिएका छन् ।
टाइम्स अफ इजरायलका अनुसार इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले भने आफ्ना मन्त्रीहरूलाई हानियाको हत्याबारे नबोल्न निर्देशन दिएका थिए । प्रधानमन्त्री नेतान्याहुको निर्देशनका बाबजुद मन्त्री इलियाहुको प्रतिक्रिया आएको हो ।
इस्माइल हानिया हमासको राजनीतिक विभाग प्रमुख थिए । उनी प्यालेस्टिनी प्राधिकरणको दसौँ प्रधानमन्त्रीसमेत हुन् । हमासका नेताहरूमध्ये नरम मानिने हानियाको जन्म प्यालेस्टाइनको शरणार्थी शिविरमा भएको थियो । सन् १९८९ मा उनलाई इजरायलले ३ वर्ष कारागारमा राखेको थियो ।
केही समय इजरायल र लेबनानबीचको ‘नो म्यान्स ल्यान्ड’ मा निर्वासनमा रहेका उनी सन् १९९७ मा हमासका नेता शेख अहमद यासिनको कार्यालय प्रमुखका रूपमा नियुक्त भएका थिए । उनलाई हमासले सन् २००६ मा प्यालेस्टिनी प्राधिकरणको प्रधानमन्त्री नियुक्त गरिएको थियो । तर एक वर्ष पुग्दा नपुग्दा प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणका प्रमुख मोहम्मद अब्बासले हानियालाई पदबाट बर्खास्त गरेका थिए ।
हानियालाई २०१७ मे ६ मा हमासले राजनीतिक विभाग प्रमुखका रूपमा नियुक्त गरेको थियो । सन् २०१८ मा अमेरिकी विदेश मन्त्रालयले हानियालाई आतंकवादी घोषणा गरेको थियो । पछिल्लो समय भने हानिया कतारमा बस्दै आएका थिए ।