काठमाडौं– पानीपुरी र चटपटे भन्ने वित्तिकै सबैको मुखबाट पानी आउँछ । अमिलो, पिरोले चट्ट भएको पानीपुरी चटपटे मन नपाउने सायद नै कम होलान् । त्यसैले पानीपुरी पसलतिर युवाहरुको भीड बाक्लै हुन्छ । तर पानीपुरी, चटपट मनाउन प्रयोग भएको सामान र पानी स्वच्छ नहुँदा कयौँ बिरामी परेका घटनाहरुपनि छन् ।
यसैक्रममा बाजुरामा एक पसलमा पानीपुरी, चटपटे खाएका १५ जनाभन्दा बढी मानिसहरु एकैपटक बिरामी परेका छन् । बडिमालिका नगरपालिका– ८ नापी कार्यालयनजिकै मीना खातुनले सञ्चालन गरेको पसलमा पानीपुरी र चटपटे खाएपछि एकैपटक १५ जनाभन्दा बढी बिरामी भएका हुन् । उनीहरु हाल जिल्ला अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन् ।
अस्पतालमा भर्ना हुने बिरामीहरुमा समान किसिमका लक्षणहरु देखा परेका छन् । सबैजसोमा वान्ता हुने, पखाला लाग्ने, पेट दुख्नेजस्ता लक्षण देखापरेको जिल्ला अस्पतालले जनाएको छ ।
आइतबार र सोमबार एकै लक्षणका बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएपछि बिरामीले डाक्टरहरुले के खानुभएको थियो भनेर सोधेका थिए । ती बिरामीहरुमध्ये कसैले पानीपुरी खाएको, कसैले चटपटे खाएपछि सञ्चो नभएको बताएका थिए ।
सो पछिजिल्ला प्रशासन कार्यालयले पसलबाट पानीपुरी र चटपटे बनाउन प्रयोग गरिने सबै सामानहरु बरामद गरेको छ । ती सामानलाई ल्याव परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी पठाएको छ । दर्ताबिना सानो ठाँउमा चलाइएको उक्त पसललाई तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।
प्रतिक्रिया