त्रिशुलीमा बेपत्ता बसको खोजीमा भारतपछि चीनको सहयोग माग्दै सरकार


काठमाडौं– सरकारले त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने भएको छ । गृहसचिव एकनारायण अर्यालका अनुसार बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भएको हो ।

‘खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी गरिरहेका छौं’ अर्यालले बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भनेका छन् ।

मुग्लिन –नारायणघाट सडकअन्तर्गत सिमतालमा २८ असारमा लेदो सहितको पहिरोमा परी दुई वटा बस बगेका थिए । बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्किएका थिए । हालसम्म २४ वटा शव फेला परेका छन् । बाँकी यात्रु र बेपत्ता बस नभेटेपछि खोजीको लागि नेपालले भारतको सहयोग मागेको थियो ।

बेपत्ता बस खोज्न साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो । अत्याधुनिक सोनार क्यामेरालगायतका उपकरणसहित त्रिशूलीका विभिन्न ठाउँमा हराएका खोज्दा भारतीय टोलीको चुम्बकसमेत हराएको थियो । लगातार ८ दिनसम्म बस नभेटिएपछि आइतबार टोली भारत फर्किएको थियो । भारतीय टोली फर्किएलगत्तै हराएको चुम्बक समेत भेठिएको थियो ।