‘विस्ताराले पोल्यो’ विवादपछि बोलिन् शान्तिश्रीः अबदेखि शब्द छनौट गरेर मात्र गाउँछु
काठमाडौं– गायिका शान्ति श्री परियारले गाएको पछिल्लो गीत विवादमा परेपछि माफी मागेकी छिन् । परियारको स्वरमा रहेको हरि गिरी विमर्शीको युट्युब च्यानलबाट साउन ११ मा सार्वजनिक ‘विस्ताराले पोल्यो’ गीत विवादपछि उनले माफी मागेकी हुन् ।
उक्त गीत लोक दोहोरी, तीज विशेष कुनैपनि विधा अन्तर्गत नरहेको समेत उनले बताएकी छिन् । तर गीतको भिडियोमा प्रयोग भएको दृश्यांकले दर्शक, श्रोतामा नकारात्मक असर परेको र सामाजिक सञ्जालमा धेरै नकारात्मक टिप्पणी आएको भन्दै उनले माफी मागेकी छिन् ।
गायनको यात्रामा आफुले दुई हजार बढी गीतमा शब्द भरेको तथा ती गीतमार्फत सन्देश र मनोरञ्जन प्रदान गर्दै आएको समेतउनले बताएकी छिन् । लोक तथा दोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्य भएको नाताले उक्त गीतमार्फत प्रतिष्ठान र फ्यानहरुको भावनामा ठेस पुगेको आफुले आभाष गरेको उनको भनाइ छ । आगामी दिनमा गीत गाउँदा शब्द छनौटमा विशेष ध्यान पुर्याउनेसमेत उनले बाचा गरेकी छिन् ।