प्रदुषणका कारण ईट्टा व्यवसाय छाडेका ‘राता मकै’ बने वातावरणमैत्री इट्टा उत्पादन गर्ने संस्थाको ‘ब्रान्ड एम्बेस्डर’


काठमाडौं– वरिष्ठ कलाकार किरण केसी ‘राता मकै’ इको केयर प्रालिको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । बुधबार बानेश्वरमा एक पत्रकार सम्मेलन गरी कम्पनीले राता मकै ब्रान्ड एम्बेस्डरमा नियुक्त भएको जानकारी दिएको हो ।

अत्याधुनिक प्रविधिको बढी प्रयोग गरेर वातावरणमैत्री इट्टा उत्पादन गर्ने इको केयर प्रालिले केसीलाई पाँच वर्षका लागि ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो । कुनै पनि प्रकारको जैविक इन्धनको प्रयोग नगरी वातावरणमैत्रीरुपमा इट्टा उत्पादन गर्ने यस कम्पनीको दाबी छ ।

ब्राण्ड एम्बेस्डर बनेपछि कलाकार किरण केसीले वातावरण मैत्री तरिकाले इट्टा उत्पादन हुने र गुणस्तरबारे डेढ महिना अध्ययन गरेर मात्रै यसको ब्रान्ड एम्बेस्डर बनेको बताएका छन् ।

उनी भन्छन्, ‘मैले विगतमा ३ वटा इट्टभट्टा सञ्चालन गरेको थिए । इट्टा पोल्दा प्रदूषण फैलिने भएकाले नै मैले व्यवसाय छोडेँ । अहिले विना प्रदूषण इट्टा उत्पादन हुन्छ भनेपछि म इम्बेस्डर बन्न राजी भएँ ।’

कम्पनीका संस्थापक अध्यक्ष विनोद श्रेष्ठका अनुसार पोलेर इट्टा उत्पादन गर्ने परम्परागत शैलीको विकल्पका रुपमा विगत तीन वर्षदेखि इको केयर सञ्चालमा ल्याइएको हो । उनी भन्छन्, ‘हामीले उत्पादन गर्ने इट्टा काँचो तर पाकेको इट्टाभन्दा गुणस्तरीय छ ।’

थोरै जग्गा, कम लगानी र थोरै जनशक्तिमा विद्यामान इट्टाभट्टाले भन्दा बढी इट्टा उत्पादन गर्न सक्ने उनको दाबी छ । अन्य स्थानमा यस प्रविधिको प्रयोग गरी इट्टा उत्पादन गर्न चाहनेलाई इको केयरले सहयोग गर्ने समेत उनले बताएका छन् ।

पत्रकार सम्मेलनमा उनले भने, ‘परम्परागतशैलीमा इट्टा बनाउने उद्योगलाई हामीले विस्थापन गर्न खोजेको होइन । उहाँहरूका लागि सहज र सरल विधि परिचय मात्रै गराउन खोजेको हो । हाम्रो उद्देश्य नै कम वातावरण प्रदूषणमा गुणस्तरीय इट्टा उत्पादन गर्नु हो ।’