आजै कक्षा १२ को नतिजा सार्वजनिक हुँदै


काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिकका लागि यतिबेला बोर्डको बैठक बसिरहेको छ । बिहान १० देखि बोर्ड बैठक बोलाइएको छ ।

सो बैठकले आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरेमा नतिजा आज नै नतिजा सार्वजनिक गर्ने भएको हो । बोर्डले कक्षा १२ को नतिजा साउनको तेस्रो हप्ता सार्वजनिक गर्ने तयारीअनुसार नै काम गरिरहेको जनाकारी गराउँदै आएको छ । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार यसै हप्ता १२ कक्षाको परीक्षाफल प्रकाशन गर्ने लक्ष्य रहेको बताए । उनले नतिजा प्रकाशनसम्बन्धी अन्तिम कामको तयारी भइरहेको र प्राविधिक त्रुटि नआएमा आजै नतिजा प्रकाशन हुने सम्भावना रहेको जानकारी दिएका छन् ।

कक्षा १२ को परिक्षा गत वैशाख १४ गतेबाट सञ्चालन भएको थियो । सो परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए । गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछन् । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुनेछन् ।

कक्षा १२ मा २०७८ देखि नै उक्त निर्देशिकाअनुसार नतिजा सार्वजनिक हुँदै आएको छ ।