रुपन्देही– शल्यक्रियाबाट प्रसुति गरेको केही घण्टामा नै सुत्केरीको मृत्यु भएपछि अस्पतालमा आइसियु नभएकाले मृत्यु भएको भन्दै आफन्तले आन्दोलन गरेका छन् ।
मणिग्रामस्थित शान्ति नमूना माविमा अध्यापनरत सिर्जना पौडेलले रुपन्देहीको तिलोत्तमा ४ स्थित ओम अस्पतालमा शल्यक्रियामार्फत छोरीलाई जन्म दिएकी थिइन् । तर सुत्केरी हुँदा सामान्य अवस्थामा नै रहेको उनको केही घण्टापछि मृत्यु भएको हो । सोपछि शल्यक्रिया गर्ने अस्पतालमा आइसियु नभएको कारण सिर्जनालाई गुमाउनुपरेको उनका आफन्तले आरोप लगाएका हुन् ।
मंगलबार साँंझ सिर्जनालाई सुत्केरी गराउन अस्पताल लगिएको थियो । उनले सर्जरीमार्फत साढे आठ बजे छोरीलाई जन्मदिइन् । उनी बुधबार दिउँसोसम्म भर्खरै जन्मेको छोरीलाई हेरेर खुसी भएकी थिइन् । तर दिउँसो तीनबजेपछि सिर्जनालाई आइसियुमा राख्नुपर्ने भएको डाक्टरहरुले बताउन थाले । तर सो अस्पतालमा आइसियूको सुविधा भने थिएन ।
सोपछि उनलाई रेफर गरेर लुम्विनी प्रादेशिक अस्पतालमा पुर्याइयो । त्यहाँ पुगेर रगत चेकजाँच गर्दा उनको रगतमा खराबी देखियो । परिवारका अनुसार उनलाई सेतो रगतको आवश्यकता परेको थियो । बुटवल रक्तसञ्चार केन्द्रमा सेतो रगत बनाउने मेशिन बिग्रीएको भन्दै रगत नपाएपछि उनको रगतलाई सेतो रगत बनाउन भैरहवा मेडिकल कलेज लगियो ।
यी सबै घटनाहुँदा रातको १२ बजेको थियो भने समयमा उपचार नपाएर त्यतीबेलासम्म सिर्जनाले संसार छाडिसकेकी थिइन् । सोपछि सुत्केरी हुँदासम्म सामान्य अवस्थामा रहेकी सिर्जनाको स्वास्थ्य अवस्था अचानक जटिल भएको र आइसियु नहुँदा लुम्विनी प्रादेशिक अस्पतालमा रेफर गरेको केही घण्टाभित्रै अकस्मात मृत्यु भएको भन्दै आफन्तहरुले दोषीमाथि कारबाहीको माग गरेका छन् । आइसियु नै नभएको अस्पतालमा शल्यक्रिया गर्न दिने व्यवस्था, ब्लड बैङ्कमा सेतो प्लेटलेट्स बनाउने मेशिन नै नचलेको अवस्थाले अकालमा ज्यान गुमेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
प्रतिक्रिया