तीन जिल्लाका २३ जनामा हैजा पुष्टी


काठमाडौं– इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ललितपुर, काठमाडौं र कैलालीमा हैजाको संक्रमण देखिएको छ। शुक्रबारसम्म ललितपुरमा १४, कैलालीमा आठ र काठमाडौंमा एक जनामा हैजाको संक्रमण देखिएको हो।

हैजाको संक्रमण देखिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको महाशाखाले जनाएको छ। केही निको भएर घर फर्किएको र केहीको उपचार चलिरहेको छ।

काठमाडौं र ललितपुरमा विशेषगरी पानीको मुहान र जारको पानीबाट हैजाको संक्रमण भएको देखिएको छ। राम्ररी नपाकेको खानेकुरा खाँदा र हातको सरसफाइमा ध्यान नदिंदा हैजा संक्रमणको जोखिम बढ्ने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रमणरोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्। खानेपानीको स्रोत संक्रमित हुँदा हैजा छिटो फैलिने उनले जानकारी दिए ।

उनले भने, ‘हैजा संक्रमण हुँदा पखाला लाग्ने, चौलानी जस्तै दिसा हुने गर्छ। त्यस्तै, शरीरका मांसपेशी बाउँडिने र निरन्तर बान्ता हुने गर्छ। समयमा उपचार नपाउँदा ज्यानै जान सक्ने भएकाले सतर्कता अपनाउनुपर्छ । यसबाट बच्न सफा र सुरक्षित पानीको प्रयोग गर्ने तथा व्यक्तिगत सरसफाइमा पनि ध्यान दिनुपपर्छ ।’