कपिलवस्तु– कपिलवस्तुमा श्रीमतीबाट हिंसा भएको भन्दै १९ जना श्रीमानले उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलको तथ्यांकअनुुसार पछिल्लो एक वर्षमा १९ जना श्रीमानले पुरुष हिंसाबाट शिकार भएको भन्दै उजुरी दिएका हुन् ।
महिलाहरुमा हिंसाका घटना धेरै हुनेगरेपनि पुरुषहरु पनि हिंसाबाट पीडित हुने गरेको यस तथ्यांकले पुष्टी समेत गरेको छ । पुरुष घरेलु हिंसामा नपर्ने गलत भास्यले समाजमा अपहेलित हुने डरले चुपचाप हिंसा सहेर बस्ने पुरुषहरू पछिल्लो समयमा सचेत हुँदै गएको र उजुरी दिन थालेको सेलले जनाएको छ ।
गाउँघरमै गुपचुपमा मिलाइने तथा दबाइने हुँदा प्रहरीले रेकर्ड राख्ने गरेको थिएन । तर पुरुष हिंसाका उजुरी आउन थालेपछि सेलले आर्थिक वर्ष २०७०/०७१ देखि पुरुष हिंसाको रेकर्ड राख्न थालेको हो । सेलको रेकर्डअनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा घरेलु हिंसाविरुद्ध परेका ३ सय ४७ उजुरीमध्ये १९ वटा पुरुष हिंसाका परेका हुन् ।
कपिलवस्तुमा आर्थिक वर्ष ०७९/८० मा जिल्लामा २९ वटा पुरुष हिंसा भएको भन्दै उजुरी दर्ता थिए। सेलमा आएका उजुरीमा अधिकांश उजुरी दुबै पक्षको छलफलपछि मेलमिलाप गरेर पठाइने गरेको छ ।
पुरुषहरुले आफ्नो श्रीमति माईत गए पछि नफर्केको, लिन जाँदा झैझडा गर्ने गरेको, वैदेशिक रोजगार गएको बेला पठाएको पैसा हिनामिना गरेको भन्दै उजुरी दिने गरेका छन् । खान लाउन नदिएको, कुटपिट गर्दै दुव्र्यवहार गरेको र घरमा काम नगरेर दुःख दिएको भन्दै पुरुष उजुरी गर्न आउने गरेका छन्। त्यस्तै घरमा नबस्ने, घर व्यवहार नहेर्ने, यातना दिने, विलासी रहनसहन, महँगो लत्ताकपडा र गरगहना चाहिने भन्दै निउ खोजेर दुःख दिने गरेको पुरुषहरुको आरोप छ ।
प्रतिक्रिया