चितवनमा बाघको आक्रमणबाट एक जना घाइते


चितवन– चितवनको मुख्य बजार क्षेत्र नारायणगढ नजिकै आज बिहान बाघले एक जनामा आक्रमण गरेको छ । बाघको आक्रमणबाट भरतपुर– २ बेलटाँडी बस्ने ६० पशुपती श्रेष्ठ घाइते भएका छन् ।

बिहान करिब साढे ५ बजेको समयमा भरतपुर महानगरपालिका १ नारायणी नदी किनारमा हिँडिरहेका बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । बाघको आक्रमणबाट घाइते भएका श्रेष्ठको मुख र हातमा चोट लागेको छ । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

बाघ खोजी तथा नियन्त्रणमाको लागि जिल्ला वन कार्यालय भरतपुरको टोली र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए । नजिकैको नरकटको घारीमा बाघ लुकेको अनुमान गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट हात्ती ल्याएर बाघलाई नियन्त्रणमा लिने तयारी गरिएको छ । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरुलाई बाघ नियन्त्रणका लागि डिभिजन बन कार्यालयले अनुरोध गरेको छ ।