काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चर्चा पाउनका लागि विभिन्न हर्कत गरिरहेका हुन्छन् । यसैक्रममा उनी शनिबार सार्वजनिक बस चढेर घर गए । सार्वजनिक बसमा चढेकोका कारण उनी यतिबेला चर्चाको शीर्ष स्थानमा छन् ।
उनले मिडियासँग सार्वजनिक यातायात प्रभावकारी हुनुपर्ने मुद्दालाई अघि सार्दै आएको तर सार्वजनिक यातायात लामो समयदेखि नचढेकोले अनुभवका लागि चढेको बताए । आफैँले सार्वजनिक यातायातमा यात्रा गर्ने र यसको सार्वजनिक महत्व बुझेर संसदमा पेश गर्ने उनले मिडियालाई सुनाए । रास्वपाका सबै कार्यकर्ता र कर्मचारी विशेष परिस्थितिबाहेक पाँच दिन सार्वजनिक बसमा नै यात्रा गर्ने निर्णय भएको उनले बताए ।
सार्वजनिक पद धारण गरेका व्यक्ति दुई कुराले चर्चित हुन्छन् । पहिलो राम्रो काम, दोस्रो गलत काम । यदी यी दुबै काम राम्रोसँग गर्न सकिँदैन भने चर्चा कमाउने अर्को उपाय हो स्टन्टबाजी । रवि लामिछानेले ‘सिधा कुरा जनतासँग’ कार्यक्रममार्फत गरेका राम्रा कामले नै नेपाली जनताको मन जितेका छन् भने उनलाई हरेक नेपालीले चिनेका छन् । तर राजनीतिमा लागेपछि खासै केही गर्न नसकेकाले उनी समय समयमा यस्तै स्टन्टबाजी गर्दै सामाजिक सञ्जालमा छाउँछन् ।
सार्वजनिक यातायातको समस्याबारेमा सर्वसाधरण सबैले भोगेको साझा समस्या हो । पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले यसको स्थलगत अनुगमनबाट अनुभव बटुल्नु पनि राम्रो कुरा हो । बिना स्टन्टबाजी ५ दिनमात्र होइन मौका मिल्ने बित्तिकै सार्वजनिक बसमा चढ्न रास्वपाका मात्र हैन अरु दलका नेतालाई अनुरोध छ ।
सार्वजनिक यातायातमा नागरिकको अनुभव राम्रो बनाउने भनेर बस चढेको भनिरहँदा उनीसँगै मिडियाको हुल पनि सार्वजनिक बसमा चढेको छ, यसले बसमा भीड बढाएको छ ।
रवि लामिछाने भिडियोमा बोलिरँहदा उनीसँगै बसमा रहेका हरेक दिन यात्रा गर्ने यात्रुलाई असहज भएको छ । रवि लामिछाने कार्यकर्ता र मिडियासहित सार्वजनिक बसमा चढ्दा यसको वास्तविकता साँच्चै नै थाहा पाए होलान् तरु एकैछिन् सोचौँ त रवि लामिछाने बसको यात्रा बिना स्टन्टबाजी गर्थे भने उनीसँगै सार्वजनिक बसमा यात्रुहरु कति गर्व गर्थे होला जनताको समस्या बुझ्ने नेता पाएकोमा । क्यामेरापछाडी यात्रुले आफ्नो असहजता पनि भन्थे होला जुन थाहा पाउनु लामिछानेको ५ दिने सार्वजनिक बस यात्रा मिशनको उद्देश्य पनि हो ।
रविले करिब डेढ वर्ष अघिपनि चितवनमा पनि सार्वजनिक गाडी चढेका थियो । उक्त भिडियोपनि निकै भाइरल भएको थियो । चितवनबाट निर्वाचित लामिछाने पहिलापटक गृहमन्त्री बनेपछि सार्वजनिक बसमा सुरक्षा दलबलसहित यात्रा गरे । त्यो एउटा घटनापछि पछिल्लो डेढ वर्षमा कतै सार्वजनिक बसको यात्रा उनले गरेनन् ।
उनले दुई महिनाअघि गृह मन्त्रालयलाई भन्नुहोस् कार्यक्रम सञ्चालन गरे । कार्यक्रममा सार्वजनिक रुपमा नागरिकको गुनासो सुन्ने तथा कर्मचारी र प्रहरीसँग जवाफ माग्ने काम गरे त्यो पनि मिडियाको अगाडी । यसबाट पनि सुशासन कायम गर्नभन्दा पनि रवि आफ्नै वाहवाही सुन्न चाहन्छन् भन्ने प्रष्ट छ ।
रविको स्टन्टबाजीकै अर्को सन्दर्भको कुरा गरौँ । करिब तीन महिनाअघि रवि लामिछानेले ललितपुरको पाटन ढोका नजिकै वषौँदेखि कागती, अदुवा बेच्दै आएकी वृद्धासँग कागती अदुवा किने । ती आमाले बेच्न राखेको सबै कागती र अदुवा उनले किनिदिए । उक्त भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भयो । सामाजिक सञ्जालबाट टाढा रहेकी ति आमाले रविलाई चिनेकी थिइनन्, दिनभरी पनि बेचि नसक्ने सामान एउटै ग्राहकले लगिँदिँदा खुसी भएकी आमा भोलिपल्टबाट दिक्क हुन थालिन् ।
भिडियो भाइरल भएपछि ती आमालाई खोज्दै अर्कोदिनदेखि विभिन्न मानिस पुग्न थाले । सामान किन्न आउने ग्राहकले नि भाइरल आमै भनेर बोलाउन थाले । भाइरल भएपछि उनका सन्तानले फोन गरेर समेत अनावश्यक रुपमा भाइरल हुँदा आफुहरुलाई समेत असर गरेको गुनासो गर्न थाले । सामान बेचेकै कारण आफूले अनावश्यक दुःख पाएको भन्दै केहिदिनअघि रविलाई आशिर्वाद दिएकी आमै गाली गर्ने अवस्थामा पुथिन्
रविले चितवनमा चलाएको महिलामात्र चल्न मिल्ने ‘निलो बस’ सञ्चालनमा ल्याए । सञ्चालनमा आउँदा निकै चर्चा कमाएको बस पछि सञ्चालनमा आउन सकेन । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयमंसेवक ट्राफिक प्रहरी घटाउने उनको घोषणापनि पूर्व अध्ययनबिना नै हुँदा फ्लप भयो । गृह मन्त्री रहँदा नै जिवी राईको लोकेसन पत्ता लागिसकेको भनेर रविले सार्वजनिक बोले । नेपालमा सबैभन्दा धेरै खोजी गरिएको र हजारौँ बचतकर्ताको रकम अपचलजस्तो गम्भीर मुद्दामा फरार राईलाई पक्राउ हुनुपूर्व नै लोकेसन पत्ता लागिसकेको भन्दा अपराधिलाई उल्टै भाग्नलाई नै मदत गरेको भनेर अहिलेसम्म उनको आलोचना भइरहेको छ ।
रवि लामिछाने पछिल्लो समयमा जनताले खोजीरहेका परिवर्तन हुन् । रविमा सारा नेपालीले भविष्यमा सुनौलो नेपालको कल्पना गरिरहेका छन् । तर लामिछानेभने कामभन्दा पनि नाम र पब्लिसिटीको पछि दौडिरहेका छन् । उनका यस्तै हर्कतले पछिल्लो समयमा उनका समर्थक निराश बन्दै गइरहेका छन् ।
प्रतिक्रिया