Logo

तस्करीको सुन बिक्री गरेको आरोपमा पोखराको एक ज्वेलर्सविरुद्ध मुद्दा

काठमाडौं– राजश्व अनुसन्धान विभागले पोखराको एक ज्वेलर्सलाई तस्करीको सुन बिक्री गरेको दाबीसहित मुद्दा दायर गरेको छ। पोखरा उच्च अदालतमा विभागले साउन १३ गते ८ करोड रुपैयाँभन्दा बढीको तस्करीको सुन बेचेको भन्दै जय भैरव ज्वेलर्सविरुद्ध मुद्दा दायर गरेको हो ।

भारतको पश्चिम बगाल मेदिनीपुरका सुरजित भौमकले सञ्चालन गर्दै आएको जय भैरव ज्वेलर्समा तस्करीको सुन प्रयोग भएको अनुसन्धानबाट देखिएपछि राजश्व चुहावटको मुद्दा दायर गरिएको महानिर्देशक चक्रबहादुर बुढाले बताए । भौमिकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले २०८० फागुन १ गते ७ किलो सुनसहित पक्राउ परेको थियो ।

पक्राउ परेपछि अनुसन्धान गर्दा उनले तस्करीमार्फत नेपालभित्र भित्रेको सुन बिक्री गर्ने गरेको खुलेको थियो । उनको ज्वलेर्सबाट स्रोत खुलाउन नसकेको सुनका गहना तथा काँचो सुन ७ किलो ७ सय ८१ ग्राम ९९ मिलिग्राम बरामद भएको थियो । प्रहरीले उनलाई राजश्व अनुसन्धान विभागको जिम्मा लगाएपछि राजश्वले एक वर्ष लगाएर अनुसन्धान गर्दै मुद्दा दायर गरेको हो ।

विभागले भौमिकसहित पाँच जना विरुद्ध मुद्दा दायर गरेको छ। मुद्दा दायर हुने अन्यमा सुरेन्द्र विश्वकर्मा, जनकलाल लोहनी, अर्जुन सुनार र अर्जुनबहादुर कामी रहेका छन् ।

विभागले उनीहरूसँग ८ करोड १५ लाख १६ हजार ८ सय ३८ रुपैयाँ बिगो र सोही बराबर जरिवाना माग गरेको छ। त्यस्तै विभागले भौमिकलाई एक वर्ष देखि तीन वर्षसम्म कैद र अन्यलाई एक महिना देखि ६ महिना कैदको माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्