काठमाडौं– विभिन्न प्राविधिक समस्या र मौसमको खराबीका कारण कहिलेकाँही जहाजको आकस्मिक अवतरण गर्नुपर्नेहुन्छ । तर आयरल्याण्डबाट उडेको एक जहाजमा श्रीमन र श्रीमतीको झगडाको कारण आकस्मिक अवतरण गर्नुपरेको छ ।
आयरल्याण्डको डब्लिनबाट स्पेनको म्यालोर्काका लागि उडान भरेको एयर लिंगसको जहाजका यात्रु रहेका एक दम्पत्तीबिच झगडा सुरु भयो । प्लेन टेकअफ भएको केहि समयमा नै सुरु भएको उनीहरुको झगडामा कोही बीचमा परेनन् । अन्य यात्रु र चालकदलले उनीहरु एकैछिनमा शान्त हुनेछन् भन्ने आशा राखेका थिए ।
तर उनीहरुको झगडा शान्त हुनुको सट्टा झन् उग्र रुप लिँदै गयो । मारमुङ्ग्री नै चल्न थाल्यो । त्यसपछि जहाजका क्याबिन क्रुले उनीहरुको झगडालाई शान्त बनाउन कोशिस गरे तर झगडा रोकिएन । श्रीमानको कुटाइबाट श्रीमती घाइतेभएपछि यात्रु तथा उडान सुरक्षालाई मध्यनजर गर्दै चालक दलले जहाजलाई गन्तव्यमा नलगी डाइभर्ट गरेर नान्टेस विमानस्थलमा आकस्मिक अवतरण गराए ।
बेलुकी करिब सबा सात बजे आयरल्याण्डको राजधानी डब्लिनबाट उडेको उडान नं इआइ७३८ को आयर लिंगसको जहाज करिब एक घण्टापछि पाइलटले आकस्मिक अवतरणको घोषणा गरेका थिए । त्यसपछि सो जहाजलाई न्यानटेस विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो ।
जहाजभित्र कुटपिट तथा झगडाका क्रममा श्रीमतीको अनुहारमा गम्भीर चोट लागेको थियो । उनको बिमान अवरण गरेपछि उपचार गरिएको थियो । पत्नीमाथि हातपात गर्ने श्रीमानलाई भने घरेलु हिंसा गरेको भन्दै विमानस्थलबाटै पक्राउ गरिएको थियो । जहाजभित्रै झगडा तथा मारपिट गर्ने ती झगडालु दम्पत्तीकको नाम भने गोप्य राखिएको छ ।
आकस्मिक अवतरणमा अन्य यात्रुभने विमानबाट बाहिर निस्किएका थिएनन् । तर यात्रुलाई सामान्य प्रक्रियामा फर्काएर अवतरणको करीब २ घण्टापछिमात्र जहाज पुनः उडाइएको थियो ।
प्रतिक्रिया