बंगलादेश फेरी तनावमा, सुरक्षाकर्मीले बढाए गस्ती


फाइल फोटो

ढाका– प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीले पुनः प्रदर्शन शुरू गरेपछि आइतबार भएको झडपमा कम्तीमा ९४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

गत महिना सुरु भएको प्रदर्शनमा सोमबारसम्म प्रहरी, सरकारी अधिकारी र चिकित्सकबाट एएफपीले प्राप्त गरेको तथ्याङ्कमा कम्तीमा ३०० जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार एकै दिनमा धेरै जनाको ज्यान जानेगरी झडपहरू भएपछि बङ्गलादेशको सुरक्षाकर्मीले सोमबार विहानैदेखि राजधानी ढाकामा गस्ती गरेको छ ।

विश्लेषकहरूले आइतबार देशभरका लाखौं प्रदर्शनकारी र सरकारी समर्थकहरूबीच लाठी र चक्कुले एकअर्कासँग आक्रमण गर्न थालेपछि सुरक्षा फौजले गोली चलाएको थियो । ढाकामा रहेका सैनिक र प्रहरीले आइतबार साँझदेखि लागू भएको कफ्र्यू लागू गर्नका लागि काँडेतार लगाएर प्रधानमन्त्री हसिनाको कार्यालय जाने बाटोहरूमा अवरोध गरेका छन् ।

गत महिनादेखि शुरु भएको आन्दोलन प्रधानमन्त्री हसिनाको १५ वर्षे शासनकालको सबैभन्दा खराब अशान्तिमा परिणत भएको छ र ७६ वर्षीय हसिनाले राजिनामा दिनुपर्ने व्यापक मागमा परिणत भएको छ ।

आन्दोलनप्रति नागरिक सहभागिता बढेसँगै मोबाइल इन्टरनेटलाई देशव्यापी रूपमा कडाइका साथ प्रतिबन्धित गरिएको थियो, कार्यालयहरू बन्द गरिएको थियो र देशका आर्थिक रूपले महत्त्वपूर्ण तीन हजार ५०० भन्दा बढी गार्मेन्ट कारखानाहरू बन्द गरिएको थियो ।

विद्यार्थीद्वारा अवज्ञा आन्दोलनको घोषणा गरेकै दिन राजधानी ढाकालगायतका स्थानमा स्थिति थप तनावपूर्ण बनेको हो ।

राष्ट्रव्यापी अवज्ञा अभियानको नेतृत्व गरेका एक प्रमुख नेता आसिफ महमुदले भने, “अन्तिम विरोध प्रदर्शन गर्ने समय आएको छ । हामी देशभरका विद्यार्थी र सर्वसाधारणलाई ढाकातर्फ अघि बढ्न आह्वान गर्दछौं ।