Logo

दलित समुदायलाई बञ्चित गरेर सरकारले संवैधानिक हकबाट बञ्चित गरायोः सन्तोष परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य सन्तोष परियारले कांग्रेस–एमाले गठबन्धन सरकारले संविधानलाई नै नमानेको भन्दै आपत्ति जनाएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कूल जनसंख्याको १४ प्रतिशत रहेको हाराहारीमा रहेको दलित समुदायलाई संवैधानिक हकबाट बञ्चित गराएको बताएका हुन् ।

‘संविधानको मुलभूत आशयलाई अहिलेका राजनीतिक दलहरुले लत्याइरहेका छन् । संविधान आफैंले काम गर्ने होईन, संविधान एउटा सामाजिक करार हो । त्यो करारअनुसार राजनीतिक पार्टी र व्यवस्था चल्नुपर्छ । तर, राजनीतिक दलहरुले आज त्यो सामाजिक करारलाई मानिरहेका छैनन् । १४ प्रतिशत लगभग रहेको दलित समुदायलाई सबैतिरबाट बञ्चित गर्ने तपाईँहरुको यो कस्तो राजनीतिक प्रवृत्ति हो ?’ उनले प्रश्न गरे ।

कांग्रेस–एमाले गठबन्धन सरकारले संविधान नमानेको र संविधान र व्यवस्थाअनुसार आफ्नो प्रवृत्ति नबनाएको उनको आरोप छ । नेता परियारले आफ्नो प्रवृत्तिअनुसार सरकारले व्यवस्था परिवर्तन गर्न खोजेको आरोप लगाए । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले समावेशितालाई नबुझेको कुरामा भत्र्सना गर्ने पनि उनले बताए । सरकारका सबै निकायहरुमा समावेशितालाई प्राथमिकतामा राख्नुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस्