काठमाडौं– ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको समाचार प्रकासित गरेको छ ।
प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेकी थिइन् । यसअघि उनले भिडियो सन्देश जारी गर्न खोजेको तर सम्भव नभएको बीबीसी बंगला सेवाले जनाएको छ ।
बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सबै राजनीतिक दलका नेताहरुसँग अहिलेको अवस्थाबारे छलफल गर्दैछन् । त्यसपछि सेना प्रमुखले अपराह्न राष्ट्रलाई सम्बोधन गर्ने तयारी समेत छ ।
आरक्षण र कोटा प्रणालीको विरोधमा विद्यार्थीले गरेको आन्दोलन हिंस्रक बन्दा ज्यान गुमाउनेको संख्या कम्तिमा ३ सय पुगिसकेको छ । अदालतले आरक्षण र कोटा प्रणालीलाई खारेज गरेपनि प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन जारी थियो ।
प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीसँग आइतबार भएको झडपमा कम्तीमा ९४ जनाको मृत्यु भएको थियो । गत महिनादेखि शुरु भएको आन्दोलन प्रधानमन्त्री हसिनाको १५ वर्षे शासनकालको सबैभन्दा खराब अशान्तिमा परिणत भएको जनाइएको छ ।
तनावका बीच बंगलादेशमा सोमबार देशभर इन्टरनेट सेवा समेत अबरुद्ध छ ।
प्रतिक्रिया