नोबेल पुरस्कार बिजेता युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्न तयार


काठमाडौं– बंगलादेशका विद्यार्थीहरुले सेना नेतृत्वको सरकार आफुहरुले स्वीकार नहुने र अन्तरिम सरकार बनाउँदा बंगलादेशका नोबल पुरस्कार विजेता मोहम्मद युनुसलाई सहभागी गराउन माग गरेका छन् ।

भिडियो सन्देश जारी गर्दै आफहरु सेनाको नेतृत्वको सरकार मान्न तयार नरहेको बताएका छन् । ‘हामीले सिफारिस गरेकोबाहेक अन्य कुनै पनि सरकार स्वीकार्य छैन,’ विद्यार्थी आन्दोलनको नेतृत्व गरेका नहिद इस्लामले भने, ‘सेनाको समर्थन रहेको वा सेना नेतृत्वको सरकार हामी स्वीकार गर्दैनौं। हामीले मोहम्मद युनुससँग पनि कुराकानी गरेका थियौं र उनले हाम्रो अनुरोध स्वीकार्दै जिम्मेवारी लिन सहमत भएका छन्।’

८४ वर्षीय युनुस र उनको ग्रामीण बैंकले सन् २००६ मा नोबल पुरस्कार जितेको थियो। युनुसले पनि अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्न गरेको प्रस्ताव स्वीकारेको समाचार संस्था रोयटर्सले समाचार लेखेको छ ।

उनका प्रवक्तालाई उधृत गर्दै पेरिसमामा सामान्य स्वास्थ्य जाँचपछि उनी बंगलादेश फर्किने भनिएको छ । उनी ओलम्पिक कमिटीको निमन्त्रणामा फ्रान्सको पेरिस गएका थिए ।

बंगलादेशको दैनिक पत्रिका द डेली स्टारले स्रोतलाई उदृत गर्दै युनुसको भनाइ लेखेको छ, ‘जब मलाई विद्यार्थीको तर्फबाट सम्पर्क भएको थियो, त्यसबेला मैले स्वीकारेको थिइनँ । मैले धेरै काम गर्न बाँकी छ भनेको थिएँ । तर, विद्यार्थीहरुले पटक पटक मलाई अनुरोध गरे ।’

उनले ‘विद्यार्थी र देशका नागरिकहरुले धेरै त्याग गरेको’ भन्दै आफू जिम्मेवारी लिन तयार रहेको बताएको द डेली स्टारले उल्लेख गरेको छ ।

उनले अब छिट्टै बंगलादेश फर्किन लागेको समेत बताए ।