कार्यालय सहयोगीबाट वडाध्यक्ष बनेका गुरुङ ऋणमा डुबेपछि राजिनामा नै नदिइ विदेशिए


काठमाडौं- जनतालाई कयौँ सपना देखाएर वडाध्यक्ष बनेका दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष चन्द्रबहादुर गुरूङ आफ्नै सपना पुरा गर्न भन्दै विदेसिएका छन् । वडाध्यक्षमा निर्वाचित भएको करिब दुई वर्षपछि उनी आफ्नो पदबाट राजिनामा नै नदिइकन विदेश उडेका हुन् ।

उनले वडा सदस्यलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएका छन् । घरमा आमाको उपचार गर्दा, स्थानीय तहको निर्वाचनमा उठ्दा र सन्तानलाई पढाउँदा ऋण लागेको भन्दै उनी ऋण तिर्ने र छोराहरुलाई पढाउने सपनासहित विदेशीएका हुन् ।

वडाध्यक्ष गुरुङ साउन २० गते नै बेलायत पलायन भइसेका छन् । उनले वडामा आफु नफर्कुन्जेलका लागि भन्दै वडा सदस्य चम्फा पुनलाई कार्यबाहक वडाध्यक्षको जिम्मेवारी दिएका छन् । तर उनले आफुमाथी कति ऋण छ र कहिले नेपाल फर्किनेबारे भने जानकारी नदिएको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट बताउँछन् ।

वडाध्यक्ष गुरूङका बुबा निमबहादुर बेलायतका निवृत्त सेना थिए। उनको १७ वर्षअघि नै प्यूठानमा मृत्यु भइसक्यो। निमबहादुरको मृत्युपछि उनकी श्रीमती बालिकादेवीका नाममा पेन्सन पनि आउने गर्थ्यो। तर उनको गत वर्ष निधन भएको थियो।

बेलायतका निवृत्त सेनाका सन्तानले रोजगारीका लागि निवेदन दिन सक्छन्। सोहीआधारमा वडाध्यक्ष गुरूङले पनि रोजगारीको लागि भन्दै निवेदन दिएका थिए। उनको करिब ५० लाख ऋण भएको र जग्गा जमिन पनि नभएकाले ऋण तिर्न नसकेर विदेश पलायन भएको परिवारले जनाएको छ । गुरुङका दुई छोराहरु छन् उनीहरु विद्यालयस्तरमा अध्ययन गरिरहेका छन् ।

वडाध्यक्ष गुरुङले स्थानीय तहको निर्वाचनअघि सोही वडाको कार्यालय सहयोगी भएर काम समेत गरेका थिए । तत्कालीन वडाध्यक्ष गोकर्णबहादुर रानाले उनलाई आफ्नो कार्यालयमा सहयोगीका रूपमा राखेका थिए। कार्यालय सहयोगीमा काम गरिरहेका गुरूङ २०७९ को चुनावमा एमालेबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भएका थिए।