नोबेल पुरस्कार बिजेता युनुस बने बंगलादेशको अन्तरिम सरकार प्रमुख
काठमाडौं– बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनुस बनेका छन् । उनले मंगलबार मात्रै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए ।
मंगलबार नै राष्ट्रपति भवनमा भएको एक बैठकले नोबेल पुरस्कार विजेता युनुसलाई नै अन्तरिम सरकारको प्रमुख चुनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो बैठकमा आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुख समेत सहभागी थिए ।
८४ वर्षीय युनुस र उनको ग्रामीण बैंकले सन् २००६ मा नोबल पुरस्कार जितेको थियो। उनी यतिबेला फ्रान्समा छन् भने उनी तत्कालै बंगलादेश फर्किने जनाइएको छ ।
उनी पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी हुन् । किनकि उनलाई शेख हसिनाले गरिबहरुको रगत चुसेको आरोप लगाउने गर्दथिन् । युनुसले आफ्नो पार्टी खोल्ने तयारी गरेको सूचना पाएपछि शेख हसिना उनीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने गरेकी थिइन् ।
गत जनवरी महिनामा युनुसलाई श्रम कानुन उल्लंघन गरेको आरोपमा ६ महिना जेल सजाय समेत सुनाइएको थियो । यद्यपि उनी जेलमा भने बस्नु परेको थिएन ।