मदिराको नशामा युवकले निले सिसाका टुक्रा


दाङ– दाङको तुलसीपुरमा एक युवकले मदिरा खाएर मातिएको समयमा बियरको बोतलका सिसाका टुक्रा खाएका छन्। तुलसीपुर उपमहानगरपालिका– ४ खाद्रेका २३ वर्षीय युवकले मंगलबार आफ्नै घरमा मदिरा सेवन गरेका थिए । सोपछि उनले बियरको बोतल फोडेर सिसाका टुक्रा खाएका हुन्।

बेलुकी साढे ७ बजेतिर सिसाका टुक्रा खाएपछि उनी छटपटाउन थालेका थिए। तत्कालै उनलाई तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल उपचारका लागि लगिएको थियो । त्यहाँ उनको प्रारम्भिक सामान्य उपचारपछि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा रिफर गरिएको थियो।

उनले नशाको समयमा किन सिसा खाए भनेर हालसम्म पत्ता लागिसकेको छैन । उनले सिसा निलेको हुनाले ती युवकको आन्द्रा र पेटमा समस्या देखिएको चिकित्सकहरूले बताएका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार अहिले युवकको अवस्था मध्यम छ। उनले सिसाका टुक्रा खाएकोबारे थप बुझ्न र अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।