पेरिस ओलम्पिकमा दोस्रो भएका निशानाबाजको पहिलो हुनेको भन्दा चर्चा बढी


काठमाडौं– एउटा प्रसिद्ध भनाइ छ, ‘दोस्रो हुनेलाई कसैले याद राख्दैन’ । तर पछिल्लो समय फ्रान्समा जारी गृष्मकालिन खेल पेरिस ओलम्पिकमा सुटिङ खेलमा दोस्रो भएका खेलाडी युसुफ डिकेक भने पहिलो हुने खेलाडी भन्दा चर्चामा छन् ।

पेरिस ‌ओलम्पिक २०२४ अन्तर्गत सुटिङमा रजत पदक जितेका टर्किस खेलाडी हुन् डिकेक । ५१ वर्षीया उनले सुटिङ गरिरहँदा खिचिँएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन्।

खेलका क्रममा डिकेकले एक हात खल्तीमा राखेका थिए भने उनी सामान्य टी–शर्टमा पेस्तोलले आफ्नो निशाना ताकिरहेका थिए। उनको उक्त तस्बीरलाई हिटम्यानसँग तुलना गरिएको छ ।

निसानाबाजमा खेलाडीहरूले कानमा ठूलो हेडफोन, अनि निसाना लगाउन सहयोग गर्ने ठूला खालका चश्मा लगाएर भिड्ने गर्छन्। तर पेरिस ओलम्पिकमा टर्कीका निसानाबाज युसूफ डिकेक यी सबै बिनानै सुटिङ रेन्जमा उत्रिएर निसाना लगाए। अनि सिल्भर मेडलसमेत हात पारे। यद्यपि, युसुफले एउटा सानो इयर प्लग भने लगाए ताकि हल्लाले डिस्टर्ब नहोस्।

डिकेक सन् २००८ देखिका हरेक ओलम्पिकमा प्रतिस्पर्धा गर्दै आएका छन्। यस ओलम्पिकमा ब्यक्तिगत स्पर्धामा उनी १३ औं स्थानमा रहे। तर मिक्स डबलमा उनले मेडल जित्न सफल भए। अब उनी २०२८ मा पदक जित्ने प्रतीक्षामा रहेका छन्।

सामाजिक सञ्जाल इन्स्टाग्राममा युसुफले लेखे ‘आशा राख्छु कि २०२८ को लसएन्जेलस ओलम्पिकमा गोल्ड जित्ने छु।’ युसुफले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘म धेरै खुसी छु कि टर्कीका लागि हामिले सुटिङमा पहिलो ओलम्पिक मेडल जित्न सफल भयौं। जहाँ करौडौं मानिसहरूले हाम्रा लागि प्रार्थना गरेका थिए। यो मेडल तीनै टर्कीका मानिसहरूप्रति समर्पीत गर्न चाहन्छु।’ युसुफले सामाजिक सञ्जालहरूमा भाइरल भइरहेका आफ्ना कयौं भिडियो र मिम्सहरू समेत सेयर गरेका छन्।