Logo

गायक कर्ण राज गिरीको गीतमा: अलिशा शर्मालाई पाइनँ भने त ‘आगो लगाइदिन्छु’ भन्दै छन् राहुल शाह

काठमाडौं– राहुल शाह र अलिशा शर्माको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहिबार सार्वजनिक भएको ‘आगो लगाइदिन्छु’ गीतको म्युजिक भिडियोमा राहुलको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियोमा राहुल र अलिशा र निराजन मगर लगायतको दमदार नृत्य देख्न सकिन्छ ।

उक्त गीतलाई चर्चित गायक कर्ण राज गिरीले गाएका छन् । गीत गायक गिरीकै युट्युब च्यानल कर्णराज गिरीमा सार्वजनिक भएको छ । सो गीतलाई सार्वजनिक भएयता दर्शकहरुले राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

गायक गिरी भ्वाइस अफ नेपाल सिजन ३ का प्रतियोगी हुन् । ‘द भ्याइस अफ नेपाल’ नेपालकै सबैभन्दा लोकप्रीय रियालिटी शो हो । लुकेको प्रतिभा र मौका नपाएका कलाकारका लागि आफुलाई प्रमाणीत गर्ने गतिलो प्लेटफर्म बनेको छ भ्वाइस अफ नेपाल । भ्वाइस अफ नेपालको बिजेता हुनु आफैँमा ठूलो कुरा हो तर सफल हुनलाई जित्नै पर्छ भन्ने नरहेको कुरालाई सिद्ध गरेका छन् सिजन ३ को टप १० मा पर्न सफल गायक गिरीले ।

पछिल्लो समय निकै नै व्यस्थ रहेका कर्णराज तीन वर्ष अघि भ्वाइस अफ नेपाल सिजन ३ मा भाग लिन पुगेका थिए । ब्लाइन्ड अडिसनमा प्रमोद खरेलको स्वरमा रहेको ‘म बाँचेकै’ बोलको गीत गाएर उनले तीन जना कोचको चेयर घुमाएका थिए । दिप श्रेष्ठ, प्रमोद खरेल र तृष्णा गुरुङ उनको लागि फर्किएका थिए ।

टिम तृष्णाबाट प्रतिस्पर्धा गरेका गिरीले भ्वाइस अफ नेपालमा दिएको पर्फमेन्स.दर्शकहरुले निकै मन पराए । उनी टप १० मा सम्म पुग्न सफल भएका थिए ।

तर उनलाई समयले भने राम्रो साथ दिएन । सानो हुँदा नै बुबालाई गुमाएका उनले भ्वाइस अफ नेपालको टप १२ मा पुगेपछि आमालाई पनि गुमाए । सानैदेखि गायनमा रुची राख्ने कर्णको आमा पनि उनलाई स्टेजमा गीत गाएको हेर्न चाहन्थिन् । तर आमाले छोराको धेरै प्रगती हेर्न नपाई प्राण त्यागिन् । मातृ शोकमा पनि कर्णले आमा र आफ्नो सपनाको लागि भ्वाइस अफ नेपालमा गीत गाइरहे । उनले गाएको ‘तीनै हुन् मेरी आमा’ बोलको गीतले त कोचेज र दर्शकलाई नै भावुक बनाइको थियो ।

उनले आफ्नो आवाजले कोच र दर्शकको मन जितेका थिए । तर प्रतिभा हुँदाहुँदै पनि भोट नपाएका कारण उनी बाहिरिन प¥यो । उनी टप १० मा सबैभन्दा कम भोट पाएका कारण बाहिरिएका थिए ।

सर्लाहीमा जन्मिएका कर्ण राज गिरीले सङगीतको लागि मेहेनत गर्थे । भ्वाइस अफ नेपालमा गएपछि भने उनलाई एकपछि अर्को सफलता मिल्न थाल्यो । त्यसयता उनले सम्पूर्ण समय र ध्यान सङ्गीतमा नै लगाइरहेका छन् ।

भोइस अफ नेपालमा आउनु पहिले पनि उनले गीतहरु गाएका थिए । उनले सात वर्ष अघि गाएको ‘ह्याङ बनायौ’ गीतको म्युजिक भिडियोमा प्रियङ्का कार्की र गम्भीर रहेका छन् । उनले अन्जु पन्तसँग पनि जिन्दगीको यात्रा, कस्तो भाग्य लगायतको गीत गाएका थिए । तर उनलाई सफलता र पहिचान भने भ्वाइस अफ नेपाल पछि नै मिल्न थालेको हो ।

टप १० बाट बाहिरिएपनि भ्वाइस अफ नेपालका विभिन्न सिजनका बिजेताहरु भन्दा कम सक्रिय छैनन् कर्ण । उनी नेपाली सांगीतिक क्षेत्रमा नयाँ नयाँ गीत पस्किरहेका छन् भने महोत्सव र कार्यक्रममा पनि सक्रिय सहभागिता देखाइरहेका छन् । पछिल्लो तीन वर्षमा उनका दर्जनौँ गीत बजारमा आएका छन् भने दर्शकहरुको पनि राम्रो प्रतिक्रिया पाइरहेका छन् ।

दुई वर्षअघि सार्वजनिक भएको कर्णको आवाजमा रहेको ‘च्याप्पै समायो’ बोलमा द कार्टुनस् क्रु जुनियर फिचर्ड छन् । गीत कार्टुन क्रुको युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो । उक्त भिडियोलाई हालसम्म एक करोड ४३ लाखभन्दा बढी पटक हेरिएको छ ।

कर्ण राज गिरी र रचना रिमालको स्वरमा रहेको ‘गोरु झालेमाले’ गीतमा पनि कार्टुन्स क्रु जुनियरको नृत्य छ । यो गीतलाई २६ लाखभन्दा बढी पटक हेरिएको छ । एक वर्षअघि कर्ण र कमला रेग्मीले गाएको लुकी लुकी बोलको गीत पनि निकै चर्चित बनेको थियो । गीतमा पल शाह र इभा गिरीको नृत्य छ । ओएसआरको युट्युब च्यानलमा यो गीत २५ लाख ६२ हजारभन्दा बढी पटक हेरिएको छ ।

करिब ११ हजार ६ सय फलोअर्स रहेको उनको आफ्नै ‘कर्ण राज गिरी’ नामको युट्युब च्यानल पनि छ । उनले केहि आफ्ना गीतहरु आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । करिब तीन महिना अघि सार्वजनिक भएको कर्णले गाएको ‘यस्तो होस् माया’ गीत उनले आफ्नै युट्युब च्यानलमा हालेका छन् । उक्त गीतमा दुई लाख ६८ हजार पटक हेरिएको छ । गीतको भिडियोमा बिमल अधिकारी र सनिशा भट्टराई छन् ।

प्रतिक्रिया दिनुहोस्