काठमाडौं– बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना चुनाव घोषणा भएपछि स्वदेश फर्किने भएकी छन् । शेख हसिनाका छोरा सजिब वाजेद जोयले चुनाब घोषणापछि देश फर्किने जानकारी दिएको बिबिसीले जनाएको छ ।
हसिनाको राजिनामा माग्दै गत आइतबार आन्दोलनमा ९४ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीहरुले प्रधानमन्त्री निवास घेरेपछि हसिनाले सोमबार राजिनामा दिएर हेलिकप्टरमार्फत भारत प्रस्थान गरेकी थिइन् । हसिनाले देश राजिनामा दिनु अघि नै कम्तिमा तीनसय जनाले ज्यान गुमाएका थिए ।
हसिनाले बंगलादेश छाडिसकेपछि पनि हिंसात्मक घटनाभने रोकिएको छैन र उक्त प्रदर्शनमा २०० जनाको मृत्यु भएको छ । खासगरि त्यहाँ रहेका हिन्दू अल्पसंख्यकहरुमा आक्रमण, अपहरण, हत्या तथा आगजनी तथा लुटपाटका घटनाहरु बढेका छन् । सन १९७१ मा बंगलादेश स्वतन्त्र भएपछिको सबैभन्दा ठूलो संकट यहि भएको बताइएको छ ।
हसिनाका छोरा सजिब सूचना प्रविधिका विज्ञ हुन् । हाल उनी अमेरिकामा बसोबास गरिरहेका छन् । केहिदिन अगाडि उनले आफ्नै सल्लाहमा आमा हसिनाले देश छोडेको बताएका थिए । हसिनाको हत्या नै हुने भएकोले आफूले आमाले नमान्दा नमान्दै देश छोड्न आग्रह गरेको उनले बताएका थिए ।
हसिनाले देश छाडेसँगै बिहिबार नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा सपथ लिएका छन्। उनको प्रमुख कार्य बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र हप्तौँको हिंसापछि नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ ।
प्रतिक्रिया