काठमाडौं– विवादित तिजको गीत ‘मादलु घन्काउँदै’ पछि प्रिती आलेले पुन नयाँ गीत ल्याएकी छिन् । गीतको भिडियोमा निकिशा श्रेष्ठ पनि भएकाले पनि यो गीत निकै चर्चा भइरहेको छ । प्रितीकै शब्द, संगीत र आवाजमा रहेको ‘दुनियाँलाई’ बोलको गीत अहिले युट्युबमा ट्रेन्डिङ छ ।
यो गीत दर्शकहरुले निकै मन पराएका छन् । बिहिबार मात्र सार्वजनिक भएको गीत शनिबार दिउँसोसम्म ४ लाख ६० हजारपटक भन्दा धेरैपटक हेरिएको छ ।
पछिल्लो समय तिजका गीतहरु धमाधम सार्वजनिक भइरहेका छन् । तर अधिकांश गीत द्विअर्थी शब्द र अश्लिल भिडियोले गर्दा चर्चामा छन् । मनोरञ्जनका लागि सर्जकहरुले तिजको धज्जी उडाउँदै गीत सार्वजनिक गरिरहेका छन् । ‘लोग्ने विदेश छ भनेर टोलमा फुइँ लाउँछे, फेरि किन त्यसका बाजे तीन महिने सुई लाउँछे,’ जस्ता शब्दका कारण प्रीतिको मादलु घन्काउँदै गीतले निकै आलोचना खेप्नुपरेको थियो ।
तर बिहिबार सार्वजनिक भएको प्रितीको तिजको गीत भने साँच्चै नै महिलाका मुद्दालाई सशक्त उठाउन सफल छ ।
समाजमा महिलालाई वस्तुकरण गरिन्छ । यसको क्षमताका कारण भन्दा पनि बाहिरी रुपमा कारण महिलालाई मुल्यांकन गरिन्छ । महिला कहिले मोटी, कहिले दुब्ली भनेर अपहेलित हुन्छे । कहिले उचाई र रङकाका कारण महिलालाई होच्याइन्छ । त्यसैले महिलाहरु अनेकौँ शृङ्घार र गरगहनामा सजेर वास्तविक आफुलाई लुकाउँदै समाजले स्थापीत गरेको ब्युटी स्टान्डरमा फिट हुन खोज्छन् ।
तर यो गीतले सामाजिक यथार्थलाई झकझकाउँदै महिलाहरुलाई वास्तविक आफुलाई स्विकार्न सिकाएको छ । आफु जस्तो भएपनि आफ्नो लागी राम्रो हुने र दुनियाँको पर्वाह नगर्न गीतमार्फत भन्दै छिन् । मोटी केटी भन्दै हेप्ने प्रवृत्तीको विरोध गर्दै प्रीतिले गाएकी छिन्, ‘कसले भन्यो मोटी केटी राम्रो हुन्न भनि, आज मैले त्यसको जवाफ दिन्छु गनी गनी’
म्युजिक भिडियोमा प्रिती र निकिशाबाहेक सम्झना बुढाथोकी, करिस्मा ढकाल, रुबिना अधिकारीलाई देख्न सकिन्छ ।
रङ विभेदले महिलाहरुमा कालो हुनु कुरुप हुनु भन्ने भास्य समाजले सिर्जना गरेको छ । ब्युटी प्रोडक्टहरु पनि यति दिनमा नै छाला गोरो बनाउने भन्दै विज्ञापन गरिन्छ । यसैक्रममा प्रीतिले गाएकी छिन्, ‘काली छु त काली कौवा भन्नै पर्ने हो र, केको खसखस मेरो कालो तिम्लाई सर्ने हो र।।’
आफुले आफुलाई स्विकार गर्नुपर्ने भन्दै गीतमा भनिएको छ, ‘लगाउँदिन किरिम पाउडर जस्तो छु सहि छु, मेरो लागी संसारमा सबैभन्दा राम्री मै छु।’
गीतमा शरिर मोटो, दुब्लो भएपनि उचाई अग्लो, होचो, काली गोरी जे भएपनि समाजले केहि न केही खोट देखाउने र आफैँलाई स्विकार्न सिकाएको छ । ‘एक बित्ताको हिल लगाएर अग्ली हुनु छैन’, ‘लगाउँदिन किरिम पाउडर जस्तो छु सहि छु’ जस्ता शब्दहरुले आफुलाई स्विकार गरेको छ ।
गीतहरुमा महिलाहरुलाई मात्र नभएर तेस्रोलिङ्गी महिलाका लागि पनि आवाज उठाइएको छ । तेस्रो लिङ्गीलाई हेर्ने दृष्टी कहिले फेरिन्छ भन्दै गीतमार्फत प्रश्न गरिएको छ । ‘मान्छे हो नी हामी पनि महादेवकै सृष्टी, कहिले सम्म फेरिँदैन हाम्लाई हेर्ने दृष्टी’ भन्दै निकिशा गीतमार्फत आफ्नो पहिचानको स्विकारोक्ती खोजिरहेकी छिन् ।
गीतमा जिस्किएको जसरी आफ्नो शारिरीक बनोटका कारण नगिज्याउन भनिएको छ । तीज महिलाको चाड । तीज महिलाको पर्व, तीजको गीत महिलाहरुलाई केन्द्रीत राखेर प्राय महिलाहरुले तीजको गीत गाएका हुन्छन् । विवाहित छोरी तीज मनाउँन माइत जाँदा विवाह पछिको दुख, वेदना, माइती जाँदाको खुसी तीजको गीतमा गाइन्छ ।
तर तिजको गीतको नाममा विकृती फैलिरहेको छ । यस्तो बेलामा प्रीतिको नयाँ तिजको गीत ‘दुनिँयालाई’ साँच्चै नै स्वागतयोग्य छ ।
प्रतिक्रिया