Logo

जापानमा लाखौँको ज्यान लिनसक्ने शक्तिशाली भूकम्प आउनसक्ने आँकल, सुरक्षित रहन एड्भाइजरी जारी

काठमाडौं– जापानमा बिहीबार शक्तिशाली भूकम्प गएपछि अझै ठूलो भुकम्प आउन सक्ने आँकलन सुरु भएको छ । बिहीबार जापानको दक्षिणी क्युसुमा केन्द्रबिन्दु भएर ७.१ म्यानिच्युडको भुकम्प गएको थियो । उक्त भुकम्पछि जापानमा निरन्तर भुकम्पको पराकम्पन गइरहेका छन् ।

उक्त भुकम्पपछि जापानको सरकारी निकायबाट झनै शक्तिशाली भुकम्प आउन सक्ने भन्दै एड्भाइजरी जारी भएको छ । जापानले पहिलो पटक भूकम्प सम्बन्धी विशेष एड्भाइजरी जारी गरेको छ । भूकम्प आउन सक्ने सम्भावित जोखिमलाई ख्याल गर्दै सजगता अपनाउन उक्त अक्त एड्भाइरी जारी गरिएको हो ।

जापान मौसम विज्ञान एजेन्सीले नान्काई र आसपासको क्षेत्रमा शक्तिशाली भूकम्प जाने प्रवल सम्भावना रहेको बताएको छ । शक्तिशाली भूकम्प गएपछि सुनामी र भीषण हावाहुरीको सम्भावना रहेको पनि एजेन्सीले जनाएको छ ।

‘शक्तिशाली भूकम्पको सम्भावना एकदमै बढी भएको आकलन गरिए पनि यो निश्चित यही समयमा आउँछ भन्ने अवस्था भने नरहेको एजेन्सीले उल्लेख गरेको छ ।

मौसम विज्ञान एजेन्सीले टोकियो वरपरका क्षेत्रहरूदेखि दक्षिणी ओकिनावा प्रिफेक्चरसम्म फैलिएको क्षेत्रका स्थानीय तहहरूलाई भूकम्पबाट बच्ने तयारी र जाँच गर्न आग्रह गरिरहेको छ ।

सरकारी अधिकारीहरूले त्यहाँका भौतिक संरचना तथा फर्निचरलाई सुरक्षित रूपमा अडाउन आग्रह गरिरहेका छन् । सरकारी निकायले त्यहाँका नागरिकलाई परिवारका सदस्यलाई सुरक्षित राख्ने उपाय अपनाउन सुझाव दिएका छन् । बालबालिका, वृद्धवृद्धा र अशक्तहरू बढी जोखिममा हुने भएकाले उनीहरूको सुरक्षाको लागि बढी सोच्न समेत आग्रह गरिएको छ।

विज्ञहरूले नान्काई भूकम्प सुरुगा तट, सिजुवाका क्षेत्र र ह्युगानाडा नदीको प्लेटबाट आउने बताएका छन् । उनीहरूले ८ देखि ९ म्याग्नेच्युटको भूकम्प तीन दशकभित्र ७० देखि ८० प्रतिशत आउने सम्भावना औंल्याएका छन् ।

शक्तिशाली भूकम्पबाट २ लाख ३० हजार नागरिकको ज्यान जान सक्ने र २० लाख घर ध्वस्त हुनसक्ने सरकारी आकलन छ ।

प्रतिक्रिया दिनुहोस्