Logo

गलत गेटमा लाइन बस्दा भाग्यले बाँचे ब्राजिलमा दुर्घटना भएको बिमानका दश यात्रु

एजेन्सी- केही कुरा सोचेअनुरुप नहुँदा आफुलाई अभागी सोचिन्छ । तर कहिलेकाँही त्यो काम नहुनुनै ठूलो भाग्य हुन्छ । यस्तै भएको छ, ब्राजिलको भोयपास एयरलाइन्सको एटीआर–७२ जहाज छुटेका दशजना यात्रुलाई ।

ब्राजिलको पराना राज्यको कास्केवेलबाट साओ पाउलोको अन्तर्राष्ट्रिय विमानस्थल जाँदै गर्दा ब्राजिलमा शुक्रबार स्थानीय समयअनुसार साढे १ बजे जहाज दुर्घटनामा प¥यो । जहाज दुर्घटनामा परेर चालक दलका चारजना र ५७ यात्रुसहित ६१ जनाको मृत्यु भएको छ । साओ पाउलोबाट लगभग ८० किलोमिटर उत्तरपश्चिम विन्हेडो शहरमा घरहरू रहेकै ठाउँमा विमान खसेको थियो।

तर त्यहि जहाजमा साओ पाउलो जाँदै गरेको १० जना यात्रुभने बिमानस्थलमा पुगेर पनि जहाज चढ्न पाएका थिएनन् । उनीहरु गलत गेटमा लाइनमा बसेका कारण जहाजमा चढ्न ढिलो भएका थिए ।

बोर्डिङ पास लिएर जहाज चढ्ने ठाउँमा फरक फरक जहाजका लागि छुट्टा छुट्टै लाइन हुन्छ। ती दश यात्रुभने अर्कै लाइनमा बस्न पुगेका थिए। विमानस्थलका कर्मचारीहरूले उनीहरूको बोर्डिङ पासअनुसारको जहाज चढ्नका लागि त्यो लाइन होइन भनेर सही गेटतर्फ पठाइदिएका थिए।

तर विमानको गेटमा पुग्दा उनीहरु ढिला भइसकेका थिए । त्यहाँका कर्मचारीहरुले दसै जनालाई जहाज चढ्न नदिएको जहाज छुटाएकामध्ये एक यात्रुले मिडियासँगको कुराकानीमा बताएका छन् ।

‘मैले उनीहरूलाई धेरै अनुनय समेत गरेको थिए। हामीले बोर्डिङ पास लिएदेखि सबै प्रक्रिया पूरा गरिसकेका छौं, हामी जानैपर्नेछ। हामीलाई जान दिनुस् भनेका थियौं,’ ब्राजिलियन मिडिया ग्लोबोलाई उद्धृत गर्दै अनतराष्ट्रिय मिडिया सिएनएनले उल्लेख गरेको छ। ती यात्रुले सोहि जहाजमा जान जति बिन्ति बिसाएपछि पनि नदिएको बताएका छन् ।

कर्मचारीले पुन टिकट बुकिङ गरेर मात्र जान सकिने बताएपछि उनीहरु फर्किएका थिए । पछि त्यही जहाज दुर्घटना भएको सुन्दा आफूलाई भाग्यमानी ठानेको ती व्यक्तिले बताएका छन्।

‘म कस्तो महशुस गरिरहेको छु भन्नेबारे भगवानलाई मात्रै थाहा छ। मेरा हातखुट्टादेखि पूरै जिउ काँपीरहेको छ। धन्न हामी त्यो विमानमा चढेनछौं र जोगियौं। भगवानलाई धन्यवाद,’ ती व्यक्तिले भने।

 

प्रतिक्रिया दिनुहोस्