Logo

इजरायलमा केयर गिभरमा जान पेश गरिएका कागजातको आधिकारिकता जाँच हुँदै

काठमाडौं– इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा जानका लागि श्रमिकहरूले पेस गरेको कागजातको आधिकारिकता जाँच हुने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालबाट लैजान लागिएका सहायक कामदारको छनोट प्रक्रियामा पेस गरिएका कागजातको आधिकारिकता जाँच गर्न उच्चस्तरीय छानबिन समिति बनाएको हो।

यसका लागि मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिने भएको हो । पछिल्लो पटक इसराइलले नेपालबाट दुई हजार केयर गिभर लैजाने भएपछि वैदेशिक रोजगार विभागले विज्ञापन जारी गरेर भर्ना प्रक्रिया अगाडि बढाएको थियो।

विभागका अनुसार इजरायल केयरगिभरमा जानका लागि चार हजार २४ जना (दुई हजार २०९ जना पुरूष र एक हजार ८१५ महिला) ले आवेदन दिएका थिए। आवेदन दिएकाबाट तीन हजार ४६१ जना (एक हजार ८६३ पुरूष र एक हजार ५९८ महिला) विभागले स्वीकृत गरेको थियो।

तर भर्ना प्रक्रियामा सहभागी भएका कतिपय कागजात नक्कली भएको समाचारहरु बाहिर आएको थियो । सोपछि विभागले स्वीकृत गरेका कागजातमाथि पनि छानबिन गर्ने निर्णय मन्त्रालयले गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्