काभ्रेपलाञ्चोक- काभ्रपलाञ्चोकका विभिन्न स्थानबाट विद्युतीय ट्रान्सफर्मरबाट तामा चोरी गरेर बिक्री गर्ने १० जना पक्राउ परेका छन् । प्रहरीले विभिन्न मितिमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेका ४५ वर्षीय विष्णुबहादुर सार्की, दोलखाका २२ वर्षीय प्रल्हाद बस्नेत, २७ वर्षीय सुनिल बस्नेत, ३० वर्षीय दिकुल खत्री, २१ वर्षीय प्रविन बस्नेत र २४ वर्षीय जगन्नाथ बस्नेत, सिन्धुपाल्चोकका २२ वर्षीय सन्तोष विक, ४२ वर्षीय राजेश विक, २८ वर्षीय कुमार विक र २४ वर्षीय प्रेम मिजार रहेको प्रहरीले जनाएको छ ।
सङ्गठित गिरोहले काभ्रेका विभिन्न स्थानबाट छवटा ट्रान्सफर्मर निकाली त्यसभित्र रहेको तामाको तार चोरी बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरु कबाडी सङ्कलन गर्ने बाहानामा गएर ट्रान्सफर्मरको तामा चोर्ने गरेको प्रहरीको अनुुसन्धानबाट खुलेको छ ।
गिरोहले करिब डेढ महिनाको अवधिमा भुम्लु गाउँपालिका–९ मेलडाँडास्थित एनसेल टावर, तेमाल गाउँपालिका–५ मनकुलबेँसीस्थित खानेपानी, नमोबुद्ध नगरपालिकाको ६ नं वडास्थित बृहत् खानेपानी तथा ५ नं वडाको कानपुर खानेपानी, मण्डनदेउपुर नपा–९ रानीटारस्थित खानेपानी र मण्डदनदेउपुर–७ को खानेपानीका लागि राखिएका ट्रान्सफर्मर चोरेका थिए ।
जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेपछि विशेष टोली परिचालन गरी उक्त गिरोहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रहरी चौकी भकुण्डेबेँसी र इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले चोरीमा संलग्न सातलाई प्रारम्भिक सोधपुछपछि नियन्त्रणमा लिएको थियो । चोरी गरिएका तामाका तार भक्तपुरका विभिन्न कवाडी पसलमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए ।
प्रनाउ श्रेष्ठका अनुसार अनुसन्धानका क्रममा भक्तपुरको जगातिस्थित प्रहरी वृत्तसँगको संयुक्त टोलीले गिरोहका थप तीनलाई पक्राउ गरी भक्तपुरका विभिन्न कवाडी पसलमा खानतलासी गर्दा गिरोहले बिक्री गरेको तामाका तारलगायत सामान बरामद गरिएको हो ।
प्रहरीले चोरीमा संलग्न बा१ज ८७३४ नम्बरको मिनीभ्यान नियन्त्रणमा लिएको छ । विभिन्न मितिमा समातिएका उनीहरूलाई जिल्ला अदालतमार्फत म्याद थपी अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिक्रिया