
काठमाडौं– नारायण–मुग्लीन सडकखण्डअन्तर्गत सिमतलतालमा गएको पहिरोसँगै बगेर त्रिशुलीमा बेपत्ता भएको बसको यात्रुहरुको सम्झनामा स्मृति स्तम्भ बनाइएको छ ।
घटनास्थलमा बेपत्ता भएको दुई बसमध्ये एउटा बसका चालक तथा यात्रुहरूको नामसहित स्मृति स्तम्भ बनाइएको हो । वीरगञ्जबाट काठमाडौं जान आएका एञ्जल डिलक्स बसमा यात्रा गरेका २६ जनाको नाम उल्लेख गरिएर उक्त स्तम्भ बनाइएको छ ।
असार २८ गते लेदोसहित आएको पहिरोले सिमलतामा सडकबाट दुई वटा बस एञ्जल डिलक्स र गणपति यातायातको बसलाई एकै पटक त्रिशूलीमा खसाएको थियो ।
तर, स्तम्भमा भने एञ्जल डिलक्समा रहेका यात्रुहरूको मात्रै नाम उल्लेख गरिएको छ । उक्त स्तम्भ कसले निर्माण गरेको बारेमा जानकारी नभएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् ।
बेपत्ता दुइ बसमा गरी ६५ जना यात्रु सवार थिए । पहिरोले बसलाई बगाउँदा तीन यात्रुले भने पौडिएर ज्यान जोगाएका थिए । बाँकी ६२ जना बससँगै हराएका थिए । उनीहरूमध्ये अहिलेसम्म १९ जनाको मात्रै शव पहिचान भएको छ ।
बाँकी शव तथा बसको खोजीको लागि नेपालका र भारतबाट समेत खोज तथा उद्धार टोलीले खोजी गरे पनि भेटिएको छैन । उता त्रिशूलीमा हराएका तथा मृत पहिचान भएका सबै जनालाई दुई लाख रुपियाँको दरले सरकारले राहत उपलब्ध गराएको छ ।














प्रतिक्रिया