काठमाडौं– भारतको कोलकत्तामा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएपछि देशभरका डाक्टरहरु हड्तालमा उत्रिएका छन् ।
कोलकातास्थित राधागोविन्द कर मेडिकल कलेज तथा अस्पतालमा गत अगस्ट ८ मा एक प्रशिक्षार्थी डाक्टरको अर्धनग्न शव फेला परेको थियो । ती डाक्टरको बलात्कारपछि हत्या गरिएको प्रहरीले पुष्टी गरेको छ ।
सोही घटनालाई लिएर सोमबार देशभरका रेजिडेन्ट डाक्टरहरू हडतालमा उत्रिएकाे भारतीय मिडिया दैनिक भास्करले जनाएको छ । हडतालका कारण देशभरिकै इमजेन्सी सेवा बाहेकका सबै सेवाहरु प्रभावित भएका छन् ।
अल इन्डिया रेजिडेन्ट डाक्टर्स एसोसिएसनका महासचिव डा.सर्वेश पाण्डेले स्वास्थ्य सचिवसँग घटनाबारे सीबीआईले छानबिन गर्नुपर्ने तथा डाक्टरहरूको सुरक्षाका लागि सेन्ट्रल प्रोटेक्सन एक्ट लागू गर्न माग गरिएको बताएका छन् । माग सम्बोधनका लागि लिखित सम्झौता नभएसम्म हडताल जारी राख्ने उनले बताएका छन् ।
यसैबिच मुख्यमन्त्री ममता बेनर्जी सोमबार बिहान मृतक प्रशिक्षार्थी डाक्टरको घरमा पुगेकी थिइन् । उनले १८ अगस्सटम्म प्रहरीले हत्यारा पत्ता लगाउन नसके यस केसलाई सीबीआईलाई हस्तान्तरण गरिने आश्वासन दिएकी छिन्। फास्ट ट्रयाक कोर्टबाट मुद्दा अघि बढाइने उनले बताएकी छिन् ।
मृतक प्रशिक्षार्थी डाक्टरको बलात्कार पछि हत्याको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सञ्जय राय रहेका छन् । उनले अस्पतालको पछाडि गएर रक्सी पिएको र नशामा डाक्टरको बलात्कार र हत्या गरेको प्रहरीले दाबी गरेको छ । प्रहरीको अनुसार उनले हत्यापछि घर गएर प्रमाण मेटाउन कपडा धोएको र जुत्तामा रगतको दाग देखिएको छ ।
प्रहरीले घटनाको विषयमा सो रात ड्युटीमा रहेका ३ डाक्टर र १ स्टाफसँग सोधपुछ गरेको छ । घटनापछि मेडिकल कलेजका प्रिन्सिपल डा.सन्दीप घोषले राजीनामा दिएका छन् ।
प्रतिक्रिया