दुई दिनभित्र जग्गा खाली गर्न चाँदबाग स्कुललाई महानगरको माइकिङ


काठमाडौं– काठमाडौं महानगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा दुई दिनभित्र खाली गराउन चाँदबाग स्कुललाई निर्देशन दिएको छ ।

काठमाडौं महानगर वडा नम्बर ३ मा रहेको सो स्कुलले १० रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै दुईदिन भित्र खालि गर्न निर्देशन दिएको हो ।

सार्वजनिक जग्गा संरक्षण अभियानमा जुटेको महानगरले नगर प्रहरीमार्फत माइकिङ गराउँदै अतिक्रमित जग्गा खाली गर्न भनेको छ ।

बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्षको निर्णयको भरमा ६ भदौ २०४४ मा ६ रोपनी र १८ मंसिरमा थप ४ रोपनी गरी कित्ता नम्बर ५० को १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा लगिएको थियो ।

तर, ९ चैत २०८० मा बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा आएको थियो ।

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले ८ साउन २०८१ मा ३ नम्बर वडालाई सो जग्गाको स्रेस्ता उतारेर दिएको थियो । स्रेस्ता पाएपछि वडाले चाँदबाद स्कुललाई हट्न भनेको थियो ।

महानगर नगर प्रहरीका अनुसार महानगरले यस अगाडि नै सार्वजनिक जग्गा खाली गर्न सूचित गराए पनि दुई दिनको समय राखेर माइकिङ गरेको हो ।