ग्रीन कार्ड मिलाईदिने प्रलोभनमा मानब बेचबिखन, एक जना पक्राउ


काठमाडौं– राम्रो तलब र ग्रीन कार्डको प्रलोभनमा पारी मानब बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। एक महिलाको बेचबिखन गरेको आरोपमा झापा कमल गाउँपालिका– १ का ५४ वर्षीय बुद्धिराज न्यौपाने पक्राउ परेका हुन् ।

उनलाई मानब बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको हो ।

उनले एक महिलालाई मौरिससमा मासिक ७० हजार रुपैयाँ कमाइ हुने गरि कुकको काममा लगाइदिने भनेर प्रलोभनमा पारेका थिए। केही समय काम गरेपछि ग्रिन कार्ड समेत पाइने प्रलोभनमा पारेपछि ती महिला मौरिसस जान तयार भएकी थिइन्।

महिलाले बुद्धिराज न्यौपानेलाई २ लाख ५० हजार रुपैयाँ मौरिसस जानका लागि भन्दै बुझाएकी थिइन् । उक्त रकम बुझाएपछि ती महिलालाई बुद्धिराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याए। त्यसबेला उनले मौरिसस लेखिएको क्याप समेत लगाउन दिएर फोटो खिचेर मौरिससका नागरिकलाई पठाएका थिए।

ती महिला २०८० माघ १३ गते नेपालबाट भारतको नयाँ दिल्ली हुँदै मौरिसस पुगिन्। विमानस्थलमा मौरिसियन पुरूषले त्यही क्यापको आधारमा चिनेर लिन आएका थिए। मौरिसियन नागरिकसँग गएपछि उनले आफू मानब बेचबिखनमा परेको थाहा पाएकी थिइन् ।
त्यहाँ महिलाले दैनिक १७÷१८ घण्टा काम गर्न लगाएको, समयमा खाना खान र तलब समेत नदिई श्रम र यौन शोषण गरेको बताएकी छिन् । केही समयपछि पीडित महिला त्यहाँबाट भागेर पोर्चुगल पुगेकी थिइन्।

त्यहाँ रहेका नेपाली नागरिकहरूको सहयोगमा उनी असार २० गते नेपाल फर्किएकी थिइन्। नेपाल फर्किएसँगै उनले ब्युरोमा दिएको जाहेरीको आधारमा उनी पक्राय परेका हुन् ।

काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको अनुमति लिएर प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ ।