जनकपुरधाम– मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिषकुमार सिंहले ८ जना राज्यमन्त्री बर्खास्त गरेका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुख्यमन्त्री सिंहले ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गरिसकेका छन् । निर्णयअनुसार राज्यमन्त्रीहरुलाई बर्खास्त गर्न प्रदेश प्रमुखसमक्ष पत्र पनि पठाइसकिएको छ ।
हालसम्मकै जम्बो मन्त्रिपरिषद् बनाएर आलोचना खेपिरहेका मधेश प्रदेशका मुख्यमन्त्री सिंहले अन्ततः राज्यमन्त्री बर्खास्त गरेका हुन् । कांग्रेस–एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका सिंहले २० सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै मुख्यमन्त्री सिंहलाई जनमत पार्टीका अध्यक्ष डा।सीके राउतले स्प्रष्टीकरण सोधेका थिए ।
कांग्रेस र एमालेलाई पनि समेटेर राज्यमन्त्री थपेपनि सत्ता साझेदार दलहरु असन्तुष्ट थिए । कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले त सार्वजनिक रुपमा नै सिंहको आलोचन गर्दै आएका थिए ।
मधेश प्रदेश सरकारमा मोहम्मद जैद आलम, केशव राय, शारदा देवी थापा रन्जु कुमारी मंडल खङ्ग, राम वावु यादव, शम्भु कुमार साह, रेखा ठाकुर र निलम कुमारी रजक राज्यमन्त्री रहेका थिए ।
प्रतिक्रिया