नेपालमा पहिलोपटक रोबोटिक शल्यक्रिया गर्न बिएन्डबी अस्पताल सफल
काठमाडौं– बिएन्डबी अस्पतालले नेपालमा पहिलोपटक सफलतापूर्वक रोबोटिक शल्यक्रिया गरेको छ । यो नेपालको चिकित्सा क्षेत्रमा ऐतिहासिक कोसेढुंगा बनेको अस्पतालको भनाइ छ ।
यस अत्याधुनिक शल्यक्रिया प्रविधिले सूक्ष्म शल्यक्रियाको प्रक्रियालाई पनि अत्यन्त सटीकताका साथ सम्भव बनाउनुका साथै रिकभरी समय कम गर्ने अस्पतालले जनाएको छ ।
बिएन्डबी अस्पतालका प्रा डा जगदीशलाल वैद्यले भने, ‘नेपालमा रोबोटिक शल्यक्रिया प्रदान गर्ने पहिलो अस्पताल हुन पाउँदा हामी उत्साहित छौँ । यो नवीन प्रविधि हाम्रा बिरामीलाई विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्ने प्रतिबद्धतामा महत्वपूर्ण कदम हो ।
रोबोटिक शल्यक्रियाले न केवल शल्यक्रिया प्रक्रियाको गुणस्तर बढाउने उनले बताए । यसले परम्परागत शल्यक्रियासँग सम्बन्धित जोखिम र रिकभरी समयलाई पनि कम गर्ने उनको भनाइ छ ।